• २०८१ बैशाख २० बिहीबार

दुर्गमता तोड्दै खुला विश्वविद्यालय

kharibot

फाइल तस्वीर

गलकोट । समय अभाव तथा रोजगारीको सिलसिलामा नेपालमै भएर उच्च शिक्षा अध्ययन गर्न रोकिएका विद्यार्थीलाई खुला विश्वविद्यालय अवसरको रुपमा रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

नेपाल खुला विश्वविद्यालय ललितपुरले शनिबार बागलुङ बजारमा आयोजना गरेको अन्तक्र्रियामा दुर्गम ठाउँ र व्यस्त विद्यार्थी, शिक्षक र प्राध्यापकका लागि उपयुक्त विकल्प र अवसरका रूपमा खुला विश्वविद्यालय रहेको सहभागीको भनाइ थियो । 

क्याम्पसमा प्राध्यापनमा रहनु पर्दा शैक्षिक दक्षता हासिल गर्नबाट बञ्चित रहेको, दुर्गम र समय अभावमा काठमाडौँमै पुगेर स्नातकोत्तर, एमफिएल लगायतका उच्च शिक्षा लिन बञ्चित भएका शिक्षक, प्राध्यापकले घरमै बसेर अध्यापन गर्ने गरी स्थापना भएको खुला विश्वविद्यालयले दुर्गमता तोड्ने उनीहरुको भनाइ छ ।

विसं २०७३ मा स्थापना भएको नेपाल खुला विश्वविद्यालयमा इन्टरनेटमा रहेको भिडियो कलका माध्यमद्वारा घरमै बसेर अध्ययन गर्न सकिनेछ । खुला विश्वविद्यालयले व्यस्तता तथा दुर्गममा बसेर थप उच्च शिक्षा हासिल गर्ने सोच र सपना अहिले पूरा गर्न लागेको धवलागिरि क्याम्पसका उपप्राध्यापक तथा खुला विश्वविद्यालयमा एमफिएलका तेस्रो सेमेष्टरमा अध्ययनरत बलराम शर्माले जानकारी दिए ।

कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय सदस्य तथा भीमसेन क्याम्पसका उपप्राध्यापक डिल्लीराज उपाध्यायले बढ्दो व्यस्तता, समयको यथोचित व्यवस्थापन र प्रविधिको असली उपयोगले जीवनका गतिविधि सहज हुने बताए ।

खुला शिक्षा प्रणालीका नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानको व्यवस्था गरी उच्च शिक्षामा सर्वसाधारणको सहज पहुँच पुर्याई ज्ञान, सीप र प्रविधियुक्त जनशक्ति उत्पादनका लागि सरकारीस्तरबाटै खुला विश्वविद्यालय स्थापना गरिएको रजिष्ट्रार कमलप्रसाद ढकालले जानकारी दिए ।

खुला विश्वविद्यालयले हाल प्राज्ञिक, अनुसन्धान मूलक तथा पेशागत विकास सम्बन्धी २२ विभिन्न तह र विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको अन्तक्र्रिया कार्यक्रममा बताइएको थियो । कार्यक्रममा बागलुङ, म्याग्दी तथा पर्वतका विभिन्न क्याम्पसमा प्राध्यापनरत ३० प्राध्यापकको सहभागिता थियो ।

धवलागिरि बहुमुखी क्याम्पसका प्राडा दिनबहादुर थापाले गुणस्तरीय शिक्षा र निरन्तर अध्ययनका लागि प्रविधिमैत्री खुला विश्वविद्यालयको भविष्यमा विकल्प नरहेको बताए ।

विश्वविद्यालयले विभिन्न सङ्कायअन्तर्गत पेशागत डिप्लोमा, स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधिका कार्यक्रम विकास गरिरहेको खुला विश्वविद्यालयका शिक्षा विभागका प्रा डा जीवन खड्काले जानकारी दिए ।

“दुर्गमका विद्यालय, क्याम्पसमा अध्यापनरत तथा जागिरे जीवनका कारण प्राज्ञिक ज्ञान, अनुसन्धान मूलक र पेशागत विकासबाट बञ्चित भएकालाई खुला विश्वविद्यालयले सहज बनाएको छ”, खड्काले भने, “खुला विश्वविद्यालयले दुर्गम गाउँलाई विश्वविद्यालयको शिक्षासँग जोड्दै आएको छ ।”

खुला विश्वविद्यालयको पहिलो ब्याचमै बागलुङबाट १० प्राध्यापक भर्ना भएर अध्ययन गरिरहेका छन् । खुला विश्वविद्यालयमा हाल एक हजार २०८ विद्यार्थी अध्ययनरत छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै