• २०८१ बैशाख २९ शनिबार

मङ्सिर १ गतेदेखि हुने हस्तकला ब्यापार मेलाको तयारी पुरा

kharibot

काठमाडौँ । आगामी मङ्सिर १ गतेदेखि ५ गतेसम्म १५औं हस्तकला ब्यापार मेला तथा १३औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको तयारी पुरा भएको छ ।

नेपाल हस्तकला महासंघले आयोजना गर्ने व्यापार मेलामा ६ प्याभिलियन सहित २ सय भन्दा बढी स्टल बुकिंग भैसकेको जानकारी दिइएको छ ।

बुधबार प्रदर्शनीको तयारीका बारेमा जानकारी दिदै आयोजक महासंघले मेलामा प्याभिलियनका रुपमा नेपाल भित्र महासंघका विभिन्न भौगोलिक क्षेत्रमा रहेका जिल्ला हस्तकला संघहरु, बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध करिव २५ वटा जिल्लाका सदस्य उद्यमी ब्यवसायीहरु, काठमाडौं उपत्यका लगायत देशको विभिन्न भौगोलिक क्षेत्रको जाति जनजाति कै प्रतिनिधित्व गर्ने स्थानीय हस्तकला सामाग्रीहरुलाई उच्च प्राथमिकता दिई प्रदर्शनी तथा बिक्रीको लागि राखिने महासंघले जनाएको छ ।

मेलामा धातु मूर्तिकला तथा धातुजन्य सामान, चाँदीका गरगहना तथा सामान, पश्मिना, सूती एवं ढाकाका सामान, हाते कागजका सामान, काष्ठकला, प्रस्तरकला, छालाजन्य वस्तु, ऊनी तथा फेल्टजन्य वस्तु, उपहारका सामान लगायत नेपाल भित्र उत्पादन हुने विविध किसिमका स्थानीय हस्तकलाका वस्तुहरुको सहभागिता रहने छ । 

मेलामा अन्तर्राष्ट्रिय सहभागीको रुपमा भारत, पाकिस्तान, बंगलादेश, चीन, भूटान आदि मुलुकहरुबाट ३५ देखि ४० उद्यमी व्यवसायीहरुको सहभागिता रहने पनि महासंघले जनाएको छ । 

प्रदर्शनी हेर्न करिब २ लाखले अवलोकन गर्ने र करिब १० करोड रुपैया जति कारोबार हुने अपेक्षा गरेको प्रदर्शनी तयारी समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिएका छन् । 
नेपाल हस्तकला महासंघले हस्तकला व्यवसायको विकास विस्तार तथा प्रबद्र्धन गर्न तथा हस्तकलाको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले २०४८ साल देखि २०७३ साल सम्म जम्मा १४ औ पटक ब्यापार मेला आयोजना गरी सकेको छ । 

यहि क्रममा १५औ हस्तकला ब्यापार मेला तथा १३औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी यस वर्ष यहि २०७४ मंसिर १ गते देखि ५ गते सम्म प्रर्दशनी हल, भृकुटीमण्डप, काठमाडौंमा आयोजना गरिने भएको छ । 

नेपाल हस्तकला महासंघको आयोजना र नेपाल सरकार वाणिज्य मन्त्रालय व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा वार्षिक कार्यक्रमको रुपमा महासंघले गरिआएको व्यापार मेला यसपालि पनि भव्य रुपमा गर्ने महासंघले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै