• २०८१ बैशाख १७ सोमबार

चुनावी मतसर्वेक्षणको नतिजा गलत छ – शशी थरुर

kharibot

नयाँदिल्ली । भारतीय काँग्रेस पार्टीका वरिष्ट नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन् । उनले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताए ।

“चुनावी मतसर्वेक्षण सबै गलत रहेको मेरो बुझाई छ । गतसाता अस्ट्रेलियामा सम्पन्न ५६ विभिन्न मतसर्वेक्षण सबै गलत साबित भएका थिए । भारतमा पनि धेरै मानिसले सर्वेक्षकलाई सबै कुरा बताउँदैनन् । वास्तविक परिणाम त आगामी बिहीबार मात्र थाहा हुनेछ,” थरुरले ट्वीट गर्दै भनेका छन् । 

एक अर्को ट्वीटमा नेता थरुरले मतसर्वेक्षणमा आएका काल्पनिक संख्याका बारेमा निरर्थक बहस गर्नुको कुनै औचित्य नभएको बताएका छन् । 

थरुरझैं धेरैजना विपक्षी नेताहरुले मतसर्वेक्षणका नतिजाप्रति आपत्ति जनाएका छन् । नेसनल कन्फ्रेन्सका नेता ओमर अब्दुल्लाहले टिभी र सोसल मिडिया बन्द गरेर आगामी बिहीबारको दिनलाई पर्खनु नै बुद्धिमानी हुने बताए । 

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले पनि चुनावी मतसर्वेक्षणले आम मानिसको भावनालाई समेट्न नसकेको बताएका छन् । हरेक पटकका मतसर्वेक्षणहरु सही नभएका र धरातलीय यथार्थबाट टाढा रहेको पाइएको छ, नायडुले भने । “आफ्नो पार्टी टिडीपीले आन्ध्र प्रदेशमा जित्ने कुरामा कुनै शंकै छैन, भारतीय जनता पार्टी बाहेकको सरकार केन्द्रमा बन्दैछ ।”

टेलिभिजन च्यानलमा प्रसारित सबैजसो चुनावी मतसर्वेक्षणले भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले नै केन्द्रमा सरकार बनाउने आँकलन गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी सरकारको नेतृत्व गर्ने सर्वेक्षणमा देखाइएको छ ।

टाइम्स नाउ र भीएमआरको एक्जिट पोलले बिजेपी गठबन्धनका पक्षमा ३०६ सिटको अनुमान लगाएको छ भने कांग्रेस गठबन्धनले १३२ सिट ल्याउने दाबी गरेको छ । त्यस्तै अन्य दलले १०४ सिट ल्याउने दाबी टाइम्स नाउ र भीएमआरले गरेको छ।

त्यस्तै इंडिया न्यूजको एक्जिट पोलका अनुसार बिजेपी गठबन्धनले २९८ र काँग्रेसको ११८ र अन्यको १२६ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै आजतक-एक्सिसको एक्जिट पोलका अनुसार विजेपी गठबन्धनले ३३९-३६५ , कांग्रेस गठबन्धनले ७७-१८ र अन्यले ७९-१११ सिट जित्ने अनुमान गरेको छ ।   

त्यस्तै सी-भोटर- रिपब्लिकको एक्जिट पोलका अनुसार बिजेपी गठबन्धनले २८७ सिट, काँग्रेसले १२८ र अन्यले १२७ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै न्युज-नेशनको एक्जिट पोलले अनुसार बिजेपी गठबन्धनले २८२-२९०, काँग्रेसले ११८-१२६ र अन्यले १३०-१३८ सिट जित्ने अनुमान गरेको छ ।                     

त्यस्तै एबिपी-नेल्शनको एक्जिट पोलले बिजेपी गठबन्धनले २६७, कांग्रेस गठबन्धनले १२७ र अन्यले १४८ सिट जित्ने अनुमान गरेको छ ।    

५४२ स्थानका लागि भएको लोकसभा निर्वाचनको अन्तिम नतिजा मे २३ मा सार्वजनिक हुनेछ । सरकार गठन गर्न आवश्यक बहुमत सिट २७२ रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै