काठमाण्डौ । नेपाल चिकित्सक संघको आव्हानमा स्वास्थ्यकर्मीहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् ।
बन्द र प्रर्दशनका क्रममा काठमाण्डौको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालबाट १७ जना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
शिक्षण अस्तालबाट शीतल निवासतर्फ अघि बढेपछि डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले आवासीय चिकित्सक संघका अध्यक्ष सुमित पाण्डेसहित डाक्टरहरु विशाल अग्रवाल, अमित शर्मा, बद्री अर्याल, हेमन्त बास्तोला. उपमा श्रेष्ठ, कविता मानन्धर, पदम जोशी, राजना लामिछानेलगायतका १७ जनालाई पक्राउ गरेको हो ।
डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन गरिरहेका डाक्टरलाई प्रहरीले पक्राउ गरेको हो ।
२४ दिनदेखि अनसन बसिरहेका डाक्टर केसीको जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै आज अस्पतालको आकस्मिक सेवा बाहेक उपचार नगर्ने घोषणा गरी जुलुस निकालेका डाक्टरलाई प्रहरीले पक्राउ गरेको हो ।
अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिरहेका चिकित्सकहरुले डा. केसीको जीवन रक्षाको माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरेका छन ।
चिकित्सकहरुले वीर अस्पताल, शिक्षण अस्पताललगायतका काठमाडौंमा मुख्यमुख्य अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु भने मारमा परेका छन् ।
संघले आफूहरुको आन्दोलनका कारण सर्वसाधारणमा पर्न गएको असुविधाप्रति दुःख पनि व्यक्त गर्दै वार्ता र संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गर्न पनि सरकारलाई अपिल गरेको छ ।