• २०८१ बैशाख १५ शनिबार

स्वास्थ्यमन्त्री बस्नेतलाई तत्काल हटाउन डा. गोविन्द केसीको माग

kharibot

काठमाडौँ । चिकित्सक गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै डा. केसीले स्वास्थ्यमन्त्री बस्नेतले पद सम्हालेयता आफ्नो मर्यादा विपरीतका क्रियाकलाप गर्दै आएको, माफियाहरूको पक्षमा वकालत गरेको र सम्बन्धित सरकारी निकायहरूलाई खुला रूपमा दबाब र धम्की दिइरहेको बताएका छन् ।

केसीले विज्ञप्तिमार्फत भनेका छन्- 'देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रही रहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाफ हो । निजलाई तत्काल पदमुक्त गरियोस् ।' 

डा. केसीले स्वास्थ्यमन्त्री बस्नेतले आफूमाथि लगाएको आरोप कल्पोलकल्पित र झूटो भएको पनि बताएका छन् ।

उनले अगाडी भनेका छन्- ‘सीटीईभीटी अन्तर्गत मापदण्ड नपुगेका र विगतमा नियम मिचेर सञ्चालन गरेका राजनीतिक माफिया कार्यकर्ताहरूको नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कलेज तथा शिक्षालयहरूलाई सम्बन्धन र सञ्चालन अनुमति दिन र दिलाउन विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू, प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, संसदीय स्वास्थ्य तथा शिक्षा समितिका सांसदहरू र माफियाहरू तथ्यहीन हल्ला फैलाएर जनमानसमा गलत धारणा स्थापित गरी दबाब सिर्जना गर्ने दुष्प्रयास गरिरहेका छन् । माफियाहरूका तर्फबाट स्वास्थ मन्त्रीको यो थप नयाँ प्रयास हो।’ 

यस्तै, डा. केसीले आफू विरुद्ध लगाइएको आरोपको छानबिन गर्न पनि आग्रह गरेका छन्। उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा, स्वास्थ्यमन्त्री (पदमुक्त गरेपछि) र सम्बन्धित निकायका पदाधिकारी साथै वरिष्ठ पत्रकार सदस्य रहेको छानबिन आयोग गठन गर्न माग गरेका छन् । 

यसका साथै डा. केसीले सरकार र आफूहरूबीच भएको सम्झौता यही मंसीर २८ गतेभित्र कार्यान्वयन नभएमा भने मंसीर २९ गतेदेखि थप कडा माग सहित सत्याग्रह लगायत कार्यक्रम शुरू गर्ने पनि डा. केसीले चेतावनी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै