• २०८१ मङ्सिर १६ आइतबार

आज क्रिसमस डे मनाइँदै

kharibot

काठमाडौँ। क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदै छ । 

प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत स्थानमा ‘क्रिसमस ट्रि’ बनाएर सजाइएको छ । यस अवसरमा आज मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन् । यस अवसरमा विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको समेत आयोजना गरिने जनाइएको छ । 

दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्म दिनको खुसीयालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो दिवस मनाइन्छ । 

नेपालमा क्रिश्चियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ । हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन समुदाय रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ ।

क्रिसमसका अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना :

प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुखआधार भएको बताएका छन् । 

क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको स्मरण गराएका छन् । 

“सनातनकालदेखि बहुसङ्ख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्बन गर्नेहरूले आ–आफ्नो आस्था अनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रतासमेत सुनिश्चित गरिएको छ,” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ । 

प्रधानमन्त्री ओलीले ‘क्रिसमस डे’का अवसरमा क्रिस्चियन धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै