केही दिनअघि मैले मेरा बच्चाहरूको शिक्षिका जुलिया वसिल्येभ्नालाई आफ्नो कार्यकक्षमा बोलाएको थिएँ । मैले उनको तलबको हिसाबकिताब गरिदिनु थियो ।
मैले उनलाई भनें, ‘आउनुस्, बस्नुस् । तपाईंको हिसाब क्लियर गरौँ । तपाईंलाई पैसाको आवश्यकता परेको होला । तर तपाईं यति लजालु हुनुहुन्छ कि तपाईं आफै त पैसा माग्नेवाला हुनुहुन्न । खै'र...हामीले एक महिनाको ३० रुबेल तलब दिने सहमति गरेका थियौं ।’
‘४०...’
‘होइन, ३० हो । मसँग यसको लिखित सहमति नै छ । मैले सधैं शिक्षिकाहरूलाई ३० रुबेल नै दिने गरेको छु । अत: तपाईंले यहाँ काम सुरु गर्नुभएको दुई महिना भयो, त्यसैले...’
‘दुई महिना र पाँच दिन हो ।’
‘होइन, ठीक दुई महिना पूरा भएको छ । मैले यसको विशेष टिपोट गरेर राखेको छु । यस अर्थमा तपाईंले पाउनुपर्ने ६० रुबेल हुनजान्छ । त्यसमा नौ शनिबारहरू घटाउनुहोस्...तपाईंलाई थाहै छ तपाईं शनिबार कोल्यालाई पढाउनु हुँदैनथ्यो । उसलाई केहीबेर घुमाउनुहुन्थ्यो मात्र । अनि तीन दिन सार्वजनिक विदाहरू परेका थिए ...’
जुलिया वसिल्येभ्नाको अनुहार आक्रोशले रातो रातो भइरहेको थियो । तर उनी एक शब्द पनि नबोलीकन आफ्नो लुगा मिलाउँदै बसिन् ।
‘तीन सार्वजनिक विदा र नौ शनिबारलाई घटाउँदा तपाईंको तलबबाट कुल १२ रुबेल घट्यो । चार दिन कोल्या बिरामी भएको थियो र तपाईंले उसलाई पढाउनुपरेन । तीन दिनसम्म तपाईंको दाँत दुख्यो र मेरी श्रीमतीले यो अनुमति दिएकी थिइन् कि तपाईंले त्यसबेला दिउँसो पढाउनुपर्दैन । चार र तीन दिन जोडेर अर्को सात रुबेल घट्यो । १२ र ७- १९ । ६० बाट १९ रुबेल घटाउँदा...बाँकी रह्यो– ४१ रुबेल । होइन त ?’
जुलिया वसिल्येभ्नाको देब्रे आँखा रातोरातो भयो र आँशुले भरियो । उनको चिउँडो काँपिरहेको थियो । आत्तिएकाले उनलाई खोकी लाग्यो र उनले रुमालले आफ्नो नाक पुछ्न थालिन् । तर उनले कुनै आपत्ति भने जनाइनन् ।
‘नयाँ वर्षको दिनमा तपाईंले एउटा चियाको कप र थाल पनि फुटाउनुभएको थियो । दुई रुबेल त्यसको पनि भयो । कप निकै महँगो थियो । बाउबाजेको पालाको थियो । तर ठीकै छ...त्यो छोड्नुस् । आखिर मलाई कहिले पो नोक्सान नभएको हो र ! त्यसपछि...तपाईंको लापरवाहीका कारण कोल्या रुखमा चढेको थियो र उसको ज्याकेट च्यातिएको थियो । दश रुबेल त्यसको घटाउनुहोस् । तपाईंकै लापरबाहीले गर्दा नोकर्नीले भान्याको जुत्ता चोरेर भागी । तपाईंले सबै कुराको हेरचाह गर्नुपर्ने थियो । आखिर तपाईंलाई त्यही कामको लागि त पैसा तिरेको हो । जुत्ताको पनि अरु पाँच रुबेल पर्यो । र १० जनवरीमा तपाईंलाई मैले १० रुबेल दिएको थिएँ’
उनलाई दुई महिनाको पूरा तलब ८० रुबेल दिएँ । उनी आश्चर्यचकित भएर उठिन् र बारम्बार मलाई आफ्नो ‘धन्यवाद’ प्रकट गरिरहिन् । मैले बाहिर जाँदै गरेकी उनलाई हेरें र सोचें, ‘संसारमा कमजोरहरूमाथि शोषण गर्न कति सजिलो छ !’
‘अहँ, मैले तपाईंबाट कत्ति पनि लिएको छैन', जुलिया वसिल्येभ्नाले दबेको स्वरमा भनिन् ।
‘तर मैले त त्यसको टिपोट गरेर राखेको छु’
‘ए....ठीकै छ’
‘४१ बाट २७ घटाउनुहोस् । बाँकी रह्यो १४ रुबेल’
उनको दुवै आँखाहरू आँशुले भरिएको थियो । उनको सुन्दर र लामो नाकमा पसिनाको थोपाहरू निस्किन थालेका थिए । दुखिया केटी !
‘मैले केवल एकपल्ट मात्र पैसा लिएको थिएँ’, उनले काँपिरहेको आवाजमा भनिन्, ‘तपाईंको श्रीमतीसँग मैले तीन रुबेल लिएको थिएँ । यसबाहेक मैले कहिल्यै केही लिएको थिइनँ’
‘साँच्चै ? त्यसको त मैले टिपोट नै गरेको रहेनछु । त्यसो भए १४ रुबेलबाट अरु तीन रुबेल घटाउनुहोस् । बाँकी रह्यो ११ रुबेल । इ..लिनुस्, यो तपाईंको पैसा । तीन..तीन..तीन..एक... र एक ..... उठाउनुहोस्’
मैले उनलाई ११ रुबेल दिएँ । उनले चुपचाप पैसा लिइन् र काँपिरहेका आफ्ना हातहरूले खल्तीमा राखिन् ।
‘धन्यवाद’, दबेको स्वरमा उनले भनिन् ।
म जुरुक्क उठें र कोठामा यताउता चक्कर लगाएँ । मलाई औडाहा रिस उठिरहेको थियो ।
‘के-का लागि यो धन्यवाद ?’, मैले सोधें ।
‘पैसा दिनुभएकोमा’
‘तर तपाईंलाई त थाहा छ मैले त तपाईंलाई ठगेको छु । भगवान ! मैले त तपाईंलाई लुटेको छु । त्यति मात्र नभएर मैले त तपाईंको रगतपसिनाको कमाइको शोषण गरेको छु । यसमा के-का लागि धन्यवाद ?’
‘यति पैसा भए नि दिनुभयो नि ! मैले पहिले काम गरेको ठाउँमा त झन् मलाई केही पनि दिंदैनथे’
‘उनीहरूले तपाईंलाई सित्तैंमा काम लगाउँथे ? आश्चर्यमा नपर्नुहोस् तपाईं ! मैले त तपाईंलाई एउटा क्रूर पाठ सिकाउनका लागि पो ठट्टा गरेको थिएँ । म तपाईंलाई तपाईंले आफ्नो हकअनुसार पाउनुपर्ने पूरै ८० रुबेल दिन गइरहेको छु । यहाँ हेर्नुस्, यो खाममा तपाईंको पूरा तलब तयार भइसकेको छ । तपाईं गलत कुराको किन विरोध गर्नुहुन्न ? तपाईं कसरी चुप रहन सक्नुहुन्छ ? यो दुनियामा कोही यस हदसम्म दुखिया र असहाय पनि हुनसक्छ ? के तपाईंको इच्छाशक्ति यतिविघ्न कमजोर छ ? यो कसरी सम्भव छ, हँ?
उनले उदास भएर मुस्कुराइन् र मैले उनको अनुहारमा पढें –‘हो, यो वास्तवमै सम्भव छ’
मैले आफ्नो क्रूर व्यवहारका लागि उनीसँग माफी मागें र उनलाई दुई महिनाको पूरा तलब ८० रुबेल दिएँ । उनी आश्चर्यचकित भएर उठिन् र बारम्बार मलाई आफ्नो ‘धन्यवाद’ प्रकट गरिरहिन् । मैले बाहिर जाँदै गरेकी उनलाई हेरें र सोचें, ‘संसारमा कमजोरहरूमाथि शोषण गर्न कति सजिलो छ !’