काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत जेनसन हुआङकी प्रेमिका एलिस हुआङसँग जोडिएका एक चिनियाँ व्यवसायीले अमेरिकी प्रतिबन्ध उल्लङ्घन गर्दै उन्नत कृत्रिम बुद्धिमत्ता चिप्स चीन पुर्याउने गरेको खुलासा भएको छ ।
अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलको अनुसन्धानमूलक प्रतिवेदनअनुसार चिनियाँ व्यवसायी ली मिङले एनभिडियाका चिप्स जडित कम्प्युटर सर्भर पहिले मलेसिया पठाउने र त्यहाँबाट चीन पुर्याउने गरेका थिए ।
यस कार्यमा ली मिङ एक्लै नभई एलिस हुआङ र उनका श्रीमान् काङ वेईसमेत जोडिएको प्रतिवेदनमा उल्लेख छ । उनीहरूले विभिन्न देशमा कम्पनी स्थापना गरी चिनियाँ प्रविधि कम्पनीलाई प्रतिबन्धित उन्नत चिप्स उपलब्ध गराउने सञ्जाल सञ्चालन गरेको बताइएको छ ।
यस सञ्जालमा एलिसले चिप्स प्राप्त गर्ने व्यवस्था मिलाउने, उनका श्रीमान् काङले चीनमा विशाल तथ्याङ्क केन्द्र निर्माण गर्ने र ली मिङले यी दुई पक्षबीच समन्वय गर्ने भूमिका निर्वाह गरेको प्रतिवेदनमा उल्लेख छ । ५२ वर्षीय चिनियाँ व्यवसायी ली मिङविरुद्ध सिङ्गापुरमा ठगीसम्बन्धी मुद्दा चलिरहेको छ । सन् २०२५ फेब्रुअरीमा दर्ता भएको मुद्दामा उनले एनभिडियाका चिप्स जडित कम्प्युटर सर्भर गलत विवरण दिएर खरिद गरेको र अन्य देशमा पठाएको आरोप छ ।
सिङ्गापुरका सरकारी वकिलका अनुसार लीले अमेरिकी कम्पनीहरूबाट खरिद गरेका सर्भर सिङ्गापुरस्थित आफ्नो कम्पनी 'लक्सुरिएट योर लाइफ' का लागि प्रयोग गर्ने बताएका थिए । तर ती सर्भर सिङ्गापुरमा प्रयोग नगरी पहिले मलेसिया र त्यसपछि अर्को देश पठाइएको आरोप छ ।
ली मिङ सिङ्गापुरको मेगास्पिड नामक कम्पनीसँग पनि जोडिएका थिए । उक्त कम्पनीकी पूर्व व्यवस्थापकीय निर्देशक एलिस हुआङ थिइन् । कम्पनीका महत्त्वपूर्ण व्यावसायिक निर्णयमा लीको पनि भूमिका रहेको बताइएको छ । उनी अहिले सिङ्गापुरमा धरौटीमा रिहा छन् ।
प्रतिवेदनअनुसार ली मिङले एलिस हुआङ र उनका श्रीमान् काङ वेईसँग मिलेर लामो समयदेखि काम गर्दै आएका थिए । चीनमा कम्पनी दर्तासम्बन्धी कागजातअनुसार एलिस र काङले सन् २०२१ मा 'सेन्चुरी लोङटेङ' नामक क्लाउड कम्प्युटिङ कम्पनी स्थापना गरेका थिए । सन् २०२३ जनवरीमा सार्वजनिक भएको एउटा तस्बिरमा ली मिङ सांघाईस्थित कृत्रिम बुद्धिमत्ता उपकरण उत्पादन गर्ने कम्पनीमा देखिएका थिए । उक्त तस्बिरसँगै सार्वजनिक गरिएको विवरणमा उनलाई सेन्चुरी लोङटेङको प्रमुख रणनीति अधिकारीका रूपमा चिनाइएको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चीनमा एनभिडियाका उन्नत चिप्स बिक्रीमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि चिनियाँ प्रविधि कम्पनीहरूलाई यस्ता चिप्स प्राप्त गर्न कठिन भएको थियो ।
प्रतिबन्धपछि चिनियाँ कम्पनीहरूले विदेशमा रहेका कम्प्युटिङ सुविधा भाडामा लिएर प्रयोग गर्ने वा चिप्स जडित सर्भर लुकाएर चीन पुर्याउने दुई उपाय अपनाउन सक्ने अवस्था बनेको थियो । ली मिङ, एलिस र काङले चीनको एउटा भिडियो खेल कम्पनीको सिङ्गापुरस्थित शाखा खरिद गरी त्यसको नाम परिवर्तन गरेर मेगास्पिड राखेका थिए । उक्त कम्पनीको निर्देशकमा एलिसलाई नियुक्त गरिएको थियो ।
मेगास्पिडले एनभिडियालाई अलिबाबा आफ्नो प्रमुख ग्राहक रहेको जानकारी गराएको थियो । सन् २०२३ नोभेम्बरमा कम्पनी एनभिडियाको क्लाउड साझेदार कार्यक्रममा समावेश भएपछि नयाँ चिप्स खरिदमा प्राथमिकता पाउन थालेको थियो । त्यसपछि मेगास्पिडले एनभिडियाका सर्भर मलेसिया पठाएर त्यहाँबाट अलिबाबालाई कम्प्युटिङ सुविधा उपलब्ध गराएको थियो । तर केही सर्भर अमेरिकी निर्यात प्रतिबन्ध उल्लङ्घन गर्दै सांघाईस्थित 'सेन्चुरी लिटोङ' कम्पनीमा समेत पठाइएको आरोप छ । सेन्चुरी लिटोङको एलिस र काङको कम्पनी सेन्चुरी लोङटेङसँग व्यावसायिक सम्बन्ध रहेको र सन् २०२४ सम्म सेन्चुरी लोङटेङ उक्त कम्पनीको प्रमुख सेयरधनी बनेको प्रतिवेदनमा उल्लेख छ ।
एलिस चिप्स प्राप्त गर्ने व्यावसायिक सञ्जालमा जोडिइरहँदा उनका श्रीमान् काङ वेईले चीनमा ठूलो स्तरमा तथ्याङ्क केन्द्र निर्माण गर्ने योजना अघि बढाएका थिए । सन् २०२१ देखि २०२४ बीच काङसँग सम्बन्धित सञ्जालका तथ्याङ्क केन्द्र परियोजनामा ९ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने प्रस्ताव थियो । यी परियोजनालाई चिनियाँ सरकारको समर्थनसमेत रहेको प्रतिवेदनमा उल्लेख छ । यस व्यावसायिक सञ्जालको मुख्य कम्पनीका रूपमा सेन्चुरी लोङटेङ रहेको बताइएको छ ।
मेगास्पिडको गतिविधिबारे अमेरिकी निकायहरूले सन् २०२४ मा अनुसन्धान सुरु गरेका थिए । कम्पनीले अमेरिकी निर्यात नियम उल्लङ्घन गर्दै एनभिडियाका चिप्स चीन पुर्याएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो । अमेरिकाको वाणिज्य तथा न्याय मन्त्रालयले पनि यस अनुसन्धानसँग सम्बन्धित विवरण सार्वजनिक गरेको थियो ।
सन् २०२५ मेमा अनुसन्धान निकायहरूले एनभिडियासँग मेगास्पिडलाई प्रत्यक्ष वा अन्य कम्पनीमार्फत चिप्स बिक्री गरिएको विषयका कागजात मागेका थिए । त्यसको एक महिनापछि जुन २०२५ मा एनभिडियाले मेगास्पिडलाई आफ्नो आन्तरिक प्रतिबन्धित ग्राहक सूचीमा राख्दै चिप्स बिक्री बन्द गरेको थियो ।
यसैबीच, सिङ्गापुरले पनि सन् २०२५ फेब्रुअरीमा मेगास्पिड र त्यसका उच्च अधिकारीहरूमाथि अनुसन्धान सुरु गरेको थियो । कम्पनीले सर्भर खरिद गर्दा गलत विवरण दिएको आशंकामा अनुसन्धान गरिएको थियो । यद्यपि, आपराधिक मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको बताइएको छ । तर एलिसलाई कडा चेतावनी दिइएको र सिङ्गापुर फर्कन रोक लगाइएको प्रतिवेदनमा उल्लेख छ । काङ वेईलाई पनि यसै वर्षको सुरुवातमा सांघाईमा नियन्त्रणमा लिइएको थियो । उनीमाथि सेयर बजारमा अनियमितता गरेको आशंकामा अनुसन्धान भइरहेको बताइएको छ ।
मेगास्पिडले भने चिप्स तस्करी गरेको आरोप अस्वीकार गर्दै आफ्नो कारोबार कानुनअनुसार सञ्चालन हुँदै आएको दाबी गरेको छ । एलिसले सन् २०२५ अगस्टमै कम्पनी छाडिसकेको पनि कम्पनीले जनाएको छ ।
यस प्रकरणमा एनभिडियाका पूर्व प्रमुख जेनसन हुआङ र एलिस हुआङबीचको कथित प्रेम सम्बन्ध सार्वजनिक भएपछि विवाद थप चर्किएको प्रतिवेदनमा उल्लेख छ । एलिससँगको सम्बन्धबाहेक कम्पनीकै एक कर्मचारीसँग जेनसनको सम्बन्ध रहेको दाबीसहितका समाचार पनि सार्वजनिक भएका थिए ।
यस विषयमा एनभिडियाको सञ्चालक समितिले आन्तरिक अनुसन्धान सुरु गरेको बताइएको छ । यद्यपि, कम्पनीको गोप्य सूचना वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी जोखिममा परेको प्रमाण नरहेको समितिको भनाइ रहेको प्रतिवेदनमा उल्लेख छ ।









