काठमाडौँ । विश्वकै ठूलो कृत्रिम बौद्धिकता चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख जेन्सेन हुआङलाई पुनः नेतृत्वमा फर्काउन अमेरिकी प्रविधि क्षेत्रका प्रभावशाली उद्योगीहरूले दबाब बढाएका छन् ।
टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्क र एपिक गेम्सका प्रमुख टिम स्वीनीले समेत हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत बनाउन समर्थन गरेका छन् ।
फाइनान्सियल टाइम्सका अनुसार हुआङले पनि आफ्नो पुनरागमनबारे निकट व्यक्तिहरूसँग छलफल गरेका छन् । उनका समर्थक उद्योगीहरूले कम्पनीको सञ्चालक समिति र ह्वाइट हाउससँग लबिइङ गर्ने तयारी गरिरहेका छन् । एनभिडियामा लगानी गरेका दुई कम्पनीका प्रमुख ब्राड गेर्स्टनर र ग्याभिन बेकरले पनि हुआङलाई पुनः जिम्मेवारी दिन सञ्चालक समितिलाई पत्र लेखेका छन् ।
हुआङको पदत्यागको कारण उनीसँग जोडिएका तीन महिलासँगको सम्बन्धसम्बन्धी विवाद रहेको बताइएको छ । सिंगापुरको मेगास्पिड कम्पनीकी पूर्वअधिकारी एलिस हुआङसँग सम्बन्ध रहेको उनले स्वीकार गरेको समाचार सार्वजनिक भएको थियो ।
त्यस्तै, एनभिडियाकै स्वास्थ्य सेवासम्बन्धी उपाध्यक्ष किम्बर्ली पावेल र अर्की एक महिला कर्मचारीसँग पनि सम्बन्ध रहेको आरोप लागेको थियो । हुआङले नोभेम्बर १२ मा प्रमुख कार्यकारी अधिकृत पद छाडेका थिए ।
एलिस हुआङमाथि चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको र एनभिडियाका गोप्य सूचना तथा अत्याधुनिक कृत्रिम बौद्धिकता चिप चीन पुर्याउन भूमिका खेलेको आशङ्का गरिएको छ । अमेरिकी अनुसन्धान निकायहरूले यस विषयमा छानबिन गरिरहेका छन्। अनुसन्धानमा कम्पनीका गोप्य सूचना बाहिरिएको वा अमेरिकी निर्यात प्रतिबन्ध छल्दै चीनमा चिप पुर्याइएको थियो कि थिएन भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि एनभिडियाको नेतृत्व र चिप निर्यात प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनले नक्कली कम्पनीमार्फत अमेरिकी निर्यात नियम छल्दै चीनमा शक्तिशाली चिप बिक्री गरिएको थियो कि थिएन भन्ने विषयमा कम्पनीले स्पष्ट पार्नुपर्ने बताएका छन् । उनका अनुसार यो विषय हुआङको व्यक्तिगत विवादभन्दा पनि गम्भीर छ ।
हुआङले पद छाडेपछि कम्पनीकी वित्तीय प्रमुख कोलेट क्रेसले अन्तरिम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेकी छन् । यसबीच सञ्चालक समितिले नयाँ प्रमुखको खोजीका क्रममा चिप निर्माता कम्पनी आर्मका प्रमुख रेने हाससँग पनि सम्पर्क गरेको बताइएको छ । तर, नयाँ प्रमुख नियुक्तिका लागि औपचारिक प्रक्रिया सुरु नभएको कम्पनीको भनाइ छ । हुआङसँग सञ्चालक समितिको निर्णय एक्लै परिवर्तन गर्न सक्ने पर्याप्त स्वामित्व नरहेकाले उनको पुनरागमनको अन्तिम निर्णय समितिले नै गर्नेछ ।









