काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष तथा सञ्चालक समिति सदस्य जेन्सेन हुआङले आफ्ना सबै नेतृत्वदायी पदबाट राजीनामा दिएका छन् ।
कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा गर्दै कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको जनाएको छ । क्रेस यसअघि कम्पनीको कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृतका रूपमा कार्यरत थिइन् ।
कम्पनीको सञ्चालक समितिका अनुसार क्रेसले एनभिडियाको तीव्र व्यावसायिक विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उनलाई कम्पनीको व्यवसाय, ग्राहक, सञ्चालन तथा वित्तीय अवस्थाबारे गहिरो जानकारी रहेको उल्लेख गरिएको छ ।
त्यस्तै, हार्भे जोन्सलाई सञ्चालक समितिको पहिलो अध्यक्षका रूपमा चयन गरिएको कम्पनीले जनाएको छ ।
सञ्चालक समितिले हुआङको योगदानको प्रशंसा गर्दै एनभिडियालाई विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक बनाउन उनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेको छ ।
अन्तरिम प्रमुख कार्यकारी अधिकृत क्रेसले कृत्रिम बौद्धिकता र उच्च क्षमताको कम्प्युटिङ क्षेत्रमा एनभिडियाको नेतृत्वलाई निरन्तरता दिने बताएकी छन्। ग्राहक, साझेदार, विकासकर्ता तथा सेयरधनीको हितलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ ।









