• २०८१ बैशाख १७ सोमबार

राष्ट्रवादको पिचमा ओलीको संघर्ष र इमरानको चौका 

kharibot

काठमाडौं । अहिले विश्वभर राष्ट्रवादको लहर चकेको छ। पछिल्लो समय विश्वभर राष्ट्रवादको नारा दिने नेताले चुनाव जिते। ति चाहे भारतका नरेन्द्र मोदी, अमेरिकाका डोनाल्ड ट्रम्प, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोन हुदै, नेपालका केपी शर्मा ओली र पछिल्लो पटक पाकिस्तानका इमरान खान। यी सबैले राष्ट्रवादको चर्को नारा दिएर मतदातालाई आफुतिर आकर्षित गर्न सफल भए। पाकिस्तानमा लामो समय सत्तामा रहेका दलहरुलाई पन्छाउदै खेलाडीबाट राजनीतिमा आएका इमरानले पनि देशको विकास, समृद्धि, अनुशासनका नारा दिएर चुनाव जिते र प्रधानमन्त्री बनेका छन्।  

केही दिनअघि पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानले देशवासीका नाममा गरेको पहिलो सम्बोधनले विश्वभर चर्चा पायो । विभिन्न अन्तर्राष्ट्रिय मिडियाले समेत चासो राख्ने गरी इमरानले के भनेका थिए ? भर्खरै मात्र देश र जनताको मन जितेर प्रधानमन्त्रीको शपथ खाएका उनले लिएको बोल्ड निर्णयले नै उनलाई प्रधानमन्त्री बनेको केही दिनमै विश्वव्यापी चर्चा दिएको हो ।  उनले पहिलो सम्बोधनमै पाकिस्तानका प्रधानमन्त्रीहरुले पाउने विलासी सुविधा नलिने घोषणा गरे । ५ सय २४ कर्मचारी, ८० जनाभन्दा धेरै सेवक र ३० भन्दा बढी बुलेटप्रुफ कारको सट्टा आफू तीन बेडरुम भएको घरमा बस्ने निर्णय गरे, त्यो पनि दुई जना सहयोगी कर्मचारी र दुईवटा मात्रै बुलेट प्रुुफ कार लिएर । हो, जननिर्वाचित प्रधानमन्त्रीको यही बोल्ड निर्णयका कारण उनी विश्वभर चासोमा परेका हुन् । नेपालमा पनि उनको बहुचर्चा भयो । 

अहिले नेपालका प्रधानमन्त्री ओली र इमरान खानको तुलना भैरहेको छ।  फरक पृष्ठभुमि भएपनि दुवैको तुलना किन हुदै छ भने दुवैले राष्ट्रवादको नारालाई बुलन्द गरेर सत्तामा आएका छन्। इमरानको परीक्षा हुन् बाँकी नै छ तर दिनको संकेत विहानीले गर्छ भने जस्तो इमरानले राम्रो सुरुवात गरेका छन् तर प्रधानमन्त्री ओलीको सुरुवात उनको भनाई अनुसार भएको छैन।  सत्तामा पुगेको ६ महिना बितेको छ र यस अवधिमा काण्ड र प्रकरण मात्रै भए।  उनले उनी देश र जनताप्रतिको प्रतिबद्धता पुरा गर्ने कामको सुरुवात गर्न असफल भएका छन्। क्रिकेट खेलाडीबाट राजनीतिमा आएका इमरानले राष्ट्रवादको पिच बनाएर सत्तामा आए र आफ्नो पारीको सहि सुरुवात गरेका छन्। उनले आफैबाट मितव्ययिता र वित्तीय अनुशासनको सुरुवात गरेका छन्।    

जनतालाई दिएका आश्वासन पूरा गर्न प्रधानमन्त्री बनेदेखि नै काम सुरु गरेर देखाउनुपर्छ भन्ने उदाहरणबाट समेत ट्रम्प र मोदीले गरेका कामबाट पाउन सकिन्छ । अझ ताजा हेर्ने हो भने त इमरानकै उदाहरण काफी छ । उनले गरिबी निवारण गर्ने र तल्लो तहका जनताको जीवनशैलीमा परिवर्तन गर्ने महत्वाकांक्षा चुनावमा राखेका थिए, जसको पूरा गर्ने संकेत हो उनले त्यागेको प्रधानमन्त्री पदले पाउने ऐय्यासी जीवनशैली । नेपालमा भने उदयचाहिँ उस्तै प्रकृतिले भयो तर त्यसपछि देखाउनुपर्ने राष्ट्र र जनताप्रतिको दायित्वमा भने ओली चुक्न पुगे । 

पछिल्ला ६ महिनामा भएका सुन तस्करी, कर्मचारी सरुवाको आतंक, यातायात सिन्डिकेट, डा. गोविन्द केसी अनसन प्रकरण,संस्कृत विश्वविद्यालयका उपकुलपति प्रकरण, राजनीतिक नियुक्ति र खारेजी जस्ता प्रकरणमा सरकार फस्यो। र अहिले पछिल्लो समय स्थानीय तहले उठाउन सुरु गरेको करले देश भर एक किसिमको आतंक सिर्जना गरेको छ। देशमा हरेक दिन बलात्कारका घटना आइरहेका छन्।  कंचनपुरमा १३ बर्षिय निर्मल पन्तको बलात्कारपछि हत्या प्रकरणले अहिले कंचनपुर तनावग्रस्त छ। तर सरकार र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीका भाषण र काम गराई यी आम चासो  र समस्या भन्दा बाहिर देखिन्छन् । 

दुईतिहाइ बहुमत प्राप्त सरकारले कुनै विषयमा प्रयाप्त अध्ययन गरेर त्यसो दिर्घकालिन समाधान गर्नुको साटो पहिलो धरपकड गर्ने अस्तव्यस्त बनाउने, आतंकित गर्ने र समिति बनाउने गलत बाटो रोजेको छ।  यातायात सिन्डिकेट होस्, तरकारी बजार होस् या अन्य जनसरोकारका विषय हुन् सरकार सकारात्मक रुपमा प्रस्तुत हुन् सकिरहेको छैन। त्यस्तो महसुस गर्न सकिएको छैन। 
   
सपना ठूला ठूला भए पनि ती सपना पूरा हुने लक्षण ओलीको वर्तमान कार्यशैलीले देखाउँदैन । इमरानको उक्त व्यावहारिक कदम भावी दिनमा उनले राम्रो गर्ने कुराको बलियो संकेत हो । विश्वभर राष्ट्रवादको लहर चलिरहँदा उदाएका ओली भने आफ्नो देशमा पछिल्ला सरकारी कदमहरुका कारण आलोचित बनिरहेका छन् । जब कि अन्य देशमा उनकै प्रकृति र पृष्ठभूमिमा उदाएका नेताहरुले धेरै राम्रा कामहरु गर्न सफल भएका छन् । प्रधानमन्त्रीकै भाषण गर्न लाखौँ खर्च गरेर रारा पुग्ने ओलीले इमरानका प्रधानमन्त्रीका रुपमा हप्ता दिनमा लिएका निर्णयहरुबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवाज सामाजिक सञ्जालमा बढेको उनको आलोचनाले दिएको सन्देश हो । 

कुनै पनि राम्रो कामको सुरुवात आफैँबाट हुनुपर्छ अनिमात्र त्यसले व्यापकता पाउँछ । इमरान खानले यस्तो काम आफूबाट सुरु गर्दा नेपालमा चाहिँ अब सरकारविरुद्ध, उसका कमी कमजोरीविरुद्ध समेत बोल्न, विरोध गर्न नपाउने हुनथालेको छ । गाउँ गाउँमा निर्वाचित जनप्रतिनिधिलाई सुविधा जुटाउन, महंगा गाडी किनाउन जनताबाट दोहोरो तेहरो कर असुल्न थालिएको छ । केहि दिन अघि अघि आएको रिपोर्ट अनुसार प्रधानमन्त्री निवास बालुवाटारका सवारी साधनको सफाईका लागि मात्र मासिक लाखौ रकमको पानि किनिएको भेटिएको छ।  प्रधानमन्त्रीले मितव्ययी हुन्छु, भ्रष्ट्राचार हुन् दिदिन भन्दै गर्दा आफ्नै निवासमा भएका यस्ता अनियमितता प्रधानमन्त्रीले कसरी हुन् दिए ? 

किनकी उनी सरकारमा गएको ६ महिना बितिसकेको छ, लामो समय देखिको राजनतिक अस्थिरता पछिको यो स्थिर सरकारले हरेक दिनको कामको रिपोर्ट जनताले खोजी रहेका छन् र खासगरी प्रधानमन्त्रीले रिपोर्ट दिने पर्दछ तर विकास, समृद्धिको नारा नारामै सिमित हुने हो कि भन्ने आशंका यस ६ महिनाको सरकारको कामले झन् बढेको छ। 

निष्कर्षमा ओली र इमरानको राष्ट्रवाद फरक देशमा फरक पृष्ठभूमिमा सफल देखिए पनि राजनेताको सफलताको मापक उनीहरुले देश र जनताका लागि के गरे भन्ने नै हो। इमरानले आफ्नो राजनीतक पारीको सुरुवात राम्रो गरेका छन् अब कसरी अगाडी बढछन् त्यो हेर्न बाँकी छ भने प्रधानमन्त्री ओलीले आफुलाई प्रमाणित गर्न अझै बाँकी नै रहेको छ ।  क्रिकेटको भाषामा सुरुवाती बलमै इमरानले चौका हानेका छन् भने हाम्रा प्रधानमन्त्री ओलीले टेस्ट खेलमा जस्तो डट बल धेरै खादै छन्, रन बनाउन संघर्ष गर्दै छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै