• २०८३ भदौ ९ मंगलबार

चार वरिष्ठ एआई अनुसन्धानकर्ता बाहिरिएपछि गुगलमा हलचल, शेयर बजारसमेत प्रभावित

चार वरिष्ठ एआई अनुसन्धानकर्ता बाहिरिएपछि गुगलमा हलचल, शेयर बजारसमेत प्रभावित

काठमाडौँ । गुगलका वरिष्ठ कृत्रिम बुद्धिमत्ता अनुसन्धानकर्ता जेफ डिनले २७ वर्षपछि कम्पनी छाडेका छन् । उनीसँगै अन्य तीन वरिष्ठ अनुसन्धानकर्ताले पनि गुगल छाड्ने निर्णय गरेपछि कम्पनीको कृत्रिम बुद्धिमत्ता क्षेत्रमा ठूलो झट्का लागेको चर्चा भएको छ ।

डिन र उनका सहकर्मीहरूले ‘डिस्कभरी लुप’ नामक नयाँ कम्पनी स्थापना गर्ने तयारी गरेका छन् । नयाँ कम्पनीले स्वचालित प्रयोगमार्फत कृत्रिम बुद्धिमत्ता प्रणालीलाई थप विकसित गर्ने प्रविधिमा काम गर्ने बताइएको छ ।

चार वरिष्ठ अनुसन्धानकर्ता बाहिरिएपछि मूल कम्पनी अल्फाबेटको शेयर मूल्य करिब ४.०३ प्रतिशतले घटेको थियो । यसबाट कम्पनीको बजार मूल्य करिब १८६ अर्ब अमेरिकी डलरले घटेको बताइएको छ ।

गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले भने उनीहरूको बहिर्गमनलाई प्रतिस्पर्धाभन्दा सहकार्यमा बदल्ने रणनीति अपनाएका छन् । गुगलले डिन र वरिष्ठ अनुसन्धानकर्ता सञ्जय घेमावतको नयाँ कम्पनीमा संस्थापक लगानीकर्ता तथा प्रविधि साझेदारका रूपमा लगानी गर्ने भएको छ ।

कम्पनी छाड्ने अन्य वरिष्ठ अनुसन्धानकर्तामा गुगल डीपमाइन्डका ओरिओल भिन्याल्स र गुगल ब्रेनका संस्थापक सदस्य क्वोक ले रहेका छन् । यसैबीच गुगल डीपमाइन्डका प्रमुख कार्यकारी डेमिस हसाबिसलाई अध्यक्ष तथा अल्फाबेटको प्रमुख वैज्ञानिकको जिम्मेवारी दिइएको छ भने जेमिनी प्रणालीको विकासको जिम्मेवारी कोरे कावुककुओग्लुलाई दिइएको छ ।

वरिष्ठ अनुसन्धानकर्ताको बहिर्गमनसँगै गुगलको कृत्रिम बुद्धिमत्ता क्षेत्रमा कर्मचारीको मनोबल र आगामी नयाँ प्रणालीको विकासबारे प्रश्न उठेका छन् । यद्यपि गुगलले नयाँ प्रणालीको विकासमा ढिलाइ हुने दाबी अस्वीकार गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै