काठमाडौं । मेमोरी चिपको मूल्य निरन्तर बढ्दै गएपछि एप्पल, सामसुङ, शाओमी, भिभो र ओप्पोजस्ता ठूला स्मार्टफोन उत्पादक कम्पनीले सन् २०२७ का लागि आफ्नो उत्पादन तथा आपूर्ति लक्ष्य घटाएका छन् । केही कम्पनीले लक्ष्यमा करिब ३० प्रतिशतसम्म कटौती गरेको एक रिपोर्टमा उल्लेख छ ।
चिनियाँ समाचार संस्था जिमियन न्युजका अनुसार आपूर्ति शृङ्खलासँग सम्बन्धित पक्षहरूसँग छलफल गरेपछि कम्पनीहरूले सन् २०२७ का लागि नयाँ लक्ष्य निर्धारण गरेका हुन् । रिपोर्टअनुसार भिभोले सन् २०२६ मा ८ करोड ५० लाख स्मार्टफोन आपूर्ति गर्ने लक्ष्य राखेकोमा सन् २०२७ का लागि घटाएर ६ करोडमा झारेको छ । यो करिब २९ प्रतिशतको कटौती हो ।
त्यस्तै, हुवावेले सन् २०२६ मा करिब ६ करोड स्मार्टफोन आपूर्ति गर्ने लक्ष्य राखेकोमा सन् २०२७ मा ५ करोडभन्दा कम आपूर्ति हुने अनुमान गरेको छ । यसले कम्पनीको लक्ष्यमा १६ प्रतिशतभन्दा बढी कमी आएको देखाउँछ । तर, अधिकांश कम्पनीले लक्ष्य घटाउँदा अनरले भने सन् २०२७ मा पनि ५ करोड स्मार्टफोन आपूर्ति गर्ने लक्ष्य यथावत् राखेको छ ।
अनरका प्रमुख कार्यकारी ली जियानले नोभेम्बर २३ मा अनर ७०० सिरिज सार्वजनिक गरेपछि लागतको दबाब मध्यम मूल्यका स्मार्टफोनमा उच्च रहेको बताएका थिए । अन्य कम्पनी पछि हटिरहेका बेला अनरले भने बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने तयारी गरेको उनको भनाइ थियो ।
स्मार्टफोन कम्पनीले लक्ष्य घटाउनुको मुख्य कारण डिआरएएम र न्यान्ड मेमोरी चिपको मूल्य वृद्धि हो । काउन्टरपोइन्ट रिसर्चको नोभेम्बर ६ मा प्रकाशित प्रतिवेदनअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा डिआरएएम बजारको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६९ प्रतिशतले बढेको थियो । यसको मुख्य कारण कृत्रिम बौद्धिकतामा आधारित सर्भरको माग वृद्धि रहेको प्रतिवेदनमा उल्लेख छ ।
कृत्रिम बौद्धिकता प्रणाली सञ्चालन गर्ने सर्भरमा ठूलो मात्रामा मेमोरी आवश्यक पर्ने भएकाले परम्परागत डिआरएएम चिपको आपूर्तिमा समेत दबाब परेको छ । यसले स्मार्टफोन उत्पादक कम्पनीलाई आवश्यक चिप पर्याप्त मात्रामा उपलब्ध गराउन कठिन बनाएको छ ।
मेमोरी चिपको मूल्य बढ्दा कम्पनीको नाफामा मात्रै नभई स्मार्टफोनको मूल्य र सुविधामा समेत असर पर्न सक्ने देखिएको छ । अनरका प्रमुख कार्यकारी ली जियानका अनुसार उत्पादन लागत नियन्त्रण गर्न केही कम्पनीले चिपसेट, क्यामेरा र मेमोरीजस्ता भागमा सम्झौता गरिरहेका छन् ।
यसका कारण आगामी दिनमा एउटै मूल्य समूहका स्मार्टफोनमा पनि मेमोरी क्षमता, क्यामेरा र अन्य सुविधामा भिन्नता देखिन सक्नेछ । मूल्य नियन्त्रण गर्न कम्पनीहरूले केही मोडलमा कम क्षमताका मेमोरी चिप प्रयोग गर्न सक्ने अनुमान गरिएको छ ।
गोल्डम्यान स्याक्सको नोभेम्बर २२ मा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार सन् २०२७ मा विश्वव्यापी डिआरएएमको माग र आपूर्तिबीच करिब ५.१ प्रतिशतको अन्तर रहन सक्छ । यो पछिल्लो १५ वर्षभन्दा बढी अवधिको गम्भीर आपूर्ति अभावमध्ये एक हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, सन् २०२७ मा स्मार्टफोनका लागि न्यान्ड मेमोरीको माग २ प्रतिशतले घट्ने अनुमान गरिएको छ । नयाँ ठूला चिप कारखानाबाट सन् २०२८ अघि उत्पादन सुरु हुने सम्भावना कम रहेकाले आगामी वर्ष पनि मेमोरी चिपको मूल्य उच्च रहने अनुमान गरिएको छ ।
गोल्डम्यान स्याक्सले भने सन् २०२८ मा डिआरएएमको माग र आपूर्तिबीचको अन्तर घटेर १.२ प्रतिशतमा सीमित हुन सक्ने र त्यसपछि डिआरएएम तथा न्यान्ड दुवैको मूल्य करिब २० प्रतिशतसम्म घट्न सक्ने अनुमान गरेको छ । यस्तो अवस्थामा सन् २०२७ का लागि स्मार्टफोन आपूर्ति लक्ष्य घटाउनु कम्पनीहरूको बढ्दो लागत व्यवस्थापन गर्ने रणनीतिका रूपमा देखिएको छ ।









