• २०८३ मङ्सिर १३ आइतबार

एप्पल-ओपनएआई विवाद: एकअर्काविरुद्ध व्यापारिक गोप्य सूचना चोरेको आरोप मुद्दा

एप्पल-ओपनएआई विवाद: एकअर्काविरुद्ध व्यापारिक गोप्य सूचना चोरेको आरोप मुद्दा

काठमाडौं । कृत्रिम बुद्धिमत्ता प्रविधि निर्माता कम्पनी ओपनएआईले व्यापारिक गोप्य सूचना चोरी गरेको आरोप लगाउँदै एप्पलविरुद्ध काउन्टर मुद्दा दायर गरेको छ । 

एप्पलले आफ्ना पूर्वकर्मचारीमार्फत गोप्य सूचना प्राप्त गरेको र ओपनएआईका आगामी उपकरण विकासमा अवरोध पुर्‍याएको आरोप लगाएको हो ।

क्यालिफोर्नियाको अदालतमा शुक्रबार दायर गरिएको मुद्दामा ओपनएआईले एप्पलले आफ्नो पूर्वकर्मचारीलाई पुनः नियुक्त गरेर नयाँ उपकरण र भविष्यका उत्पादन योजनासम्बन्धी गोप्य विवरण प्राप्त गरेको दाबी गरेको छ । ती कर्मचारीले ओपनएआईका दर्जनौँ गोप्य कागजात व्यक्तिगत मोबाइलमा पठाएको र एप्पलका उच्च अधिकारीसमक्ष कम्पनीका योजना प्रस्तुत गरेको आरोप पनि लगाइएको छ ।

ओपनएआईले कृत्रिम बुद्धिमत्तामा आधारित व्यक्तिगत उपकरण विकास गरिरहेको छ । ती उपकरणले एप्पलको आफ्नै बजारमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले एप्पलले हार्डवेयर आपूर्तिकर्तालाई ओपनएआईसँग सहकार्य नगर्न प्रोत्साहित गरेको आरोप पनि मुद्दामा उल्लेख छ ।

यसअघि एप्पलले जुलाईमा ओपनएआई र उसका दुई पूर्वकर्मचारीविरुद्ध व्यापारिक गोप्य सूचना चोरी गरेको आरोपमा मुद्दा दायर गरेको थियो । एप्पलले आफ्ना कर्मचारीले कम्पनीका आन्तरिक विवरण चोरेर ओपनएआईलाई उपलब्ध गराएको दाबी गरेको थियो । ओपनएआईले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

एप्पलले ओपनएआईको पछिल्लो मुद्दालाई आफ्नो मूल मुद्दाबाट ध्यान मोड्ने प्रयास भन्दै आरोप अस्वीकार गरेको छ । एप्पलले आफ्ना गोप्य प्रविधि र उत्पादनसम्बन्धी सूचना चोरी भएको विषय नै मुद्दाको मुख्य आधार रहेको बताएको छ । ओपनएआईले गत वर्ष एप्पलका पूर्वप्रमुख डिजाइनर जोनी आइभले स्थापना गरेको डिजाइन कम्पनी ६ अर्ब ५० करोड अमेरिकी डलरमा खरिद गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै