काठमाडौँ । विश्व वातावरण दिवस आज मनाइदै छ । सन् १९७३ देखि विश्वभर प्रत्येक वर्ष जुन ५ तारिखको दिन यो दिवस मनाउँदै आइएको छ ।
यसबर्ष विश्व वातावरण दिवसको विषयवस्तु 'जलवायु कार्य अर्थात क्लाइमेट एक्सन' भन्ने रहेको छ, जसको उद्धेश्य जलवायुसँगको हाम्रो सम्बन्धलाई सुधार गर्ने, प्रकृतिमा आधारित समाधानहरूको प्रयोग गर्ने र हाम्रो विश्वव्यापी अर्थतन्त्रलाई शक्ति प्रदान गर्ने प्रणालीहरूको पुनर्विचार गराउनु रहेको छ ।
वातावरण तथा पर्यावरणका अवयहरुलाई संरक्षण, व्यवस्थापन र प्रवर्धन गर्ने उद्धेश्यले शुरु गरिएको यो दिवस सन् १९७२ मा संयुक्त राष्ट्रसघंबाट स्थापना भएको हो । पृथ्वीको गोलार्धंमा रहेका सम्पूर्ण मानवजातिहरुलाई प्राकृतिक स्रोत र वातावरण सम्बन्धि चेतना जागृत गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।
नेपालमा वातावरणीय विनाश दिन प्रतिदिन बढिरहेको छ । मानवीय क्रियाकलापका कारण वातावरण दिनप्रतिदिन प्रदुषित वा विनास हुँदै गएको छ । दिवसले चेतना जागृत गराउने उद्देश्य राखे पनि मानिसमा चेतना अवभावकै कारण वातावरण कुरुप बन्दै गएको हो भन्दा फरक नपर्ला । मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदाको तीव्र दोहन आदि नै वातावरणीय विनाशका प्रमुख कारणहरू हुन् । वास्तवमा वातावरणीय विनाशको कारणले मरुभूमीकरण वर्षा, ओजोन तह नष्ट, बाढी पहिरो र हरित गृह प्रभाव बढ्ने क्रममा छ ।
वातावरण विनासले जलवायु परिवर्तनको असर समेत देखापरेको अवस्था छ । जलवायु परिवर्तनले आम मानिसको जीवनमा असर पु¥याउन थालिसकेको छ । जलवायु परिवर्तनका कारण मानव जीवन मात्र होइन कृषि, खाद्यान्न, जलस्रोत, वन–जंगल, भौतिक पूर्वाधारलगायत समग्र क्षेत्रमा असर परिरहेको छ । तीव्र विकासको नाममा वातावरण संरक्षण गर्न नसक्दा जलवायु परिवर्तनको असर देखापर्न थालेको छ । विकासको नाममा गरिने वातावरणप्रतिको बेवास्तालाई ध्यान दिए स्वच्छ वातावरण निर्माण गर्न सकिन्छ । वातावरणको सिर्जना पृथ्वीमा रहेका जीवजगत र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भएपनि यसको संरक्षणमा मानव जातिको महत्वपूर्ण भूमिका हुन्छ ।









