• २०८३ जेठ १७ आइतबार

आज विश्व अभिभावक दिवस मनाइँदै

आज विश्व अभिभावक दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर ‘विश्व अभिभावक दिवस’ मनाइँदैछ। बालबालिकाको पालनपोषण, संरक्षण र समग्र विकासमा अभिभावकले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाको सम्मानस्वरूप प्रत्येक वर्ष जुन १ मा यो दिवस मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् २०१२ मा जुन १ लाई ‘विश्व अभिभावक दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । यस दिवसले आफ्ना सन्तानका लागि अभिभावकले गर्ने निस्वार्थ समर्पण, त्याग र जीवनभरको योगदानप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्छ ।

संयुक्त राष्ट्रसंघका अनुसार परिवार बालबालिकाको पालनपोषण र संरक्षणको प्रमुख आधार हो । बालबालिकाको व्यक्तित्वको पूर्ण र सन्तुलित विकासका लागि उनीहरू प्रेम, खुसी, सुरक्षा र समझदारीले भरिएको पारिवारिक वातावरणमा हुर्किन आवश्यक मानिन्छ ।

यस वर्षको विश्व अभिभावक दिवसको नारा ‘अभिभावकका लागि एकसाथ’ रहेको छ । यस अवसरमा संयुक्त राष्ट्रसंघीय बाल कोषले नयाँ सचेतनामूलक दृश्य सामग्री सार्वजनिक गर्दै बालबालिकालाई जीवनको राम्रो सुरुआत दिलाउन अभिभावक र स्याहारकर्तालाई पर्याप्त समय, सहयोग र समर्थन आवश्यक रहेको सन्देश दिएको छ । उक्त सामग्रीमा विभिन्न देशका अभिभावकहरूले आफ्ना अनुभव र अभिभावकत्वका भावनात्मक पक्ष साझा गरेका छन् ।

संयुक्त राष्ट्रसंघले सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयलाई विशेष प्राथमिकता दिन थालेको थियो। त्यसपछि परिवारको महत्व र चुनौतीबारे विश्वव्यापी सचेतना बढाउन विभिन्न प्रस्तावहरू पारित गरिएका थिए । महासभाले सन् १९९४ लाई ‘अन्तर्राष्ट्रिय परिवार वर्ष’ घोषणा गरेको थियो भने प्रत्येक वर्ष मे १५ लाई ‘अन्तर्राष्ट्रिय परिवार दिवस’ का रूपमा मनाउने निर्णय समेत गरेको थियो ।

बालबालिकाको अधिकारसम्बन्धी महासन्धिको भावना अनुरूप परिवार र अभिभावकलाई सहयोग गर्ने नीति तथा कार्यक्रमहरूलाई गरिबी न्यूनीकरण, असमानता घटाउने तथा बालबालिकाको समग्र कल्याण प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा हेरिँदै आएको छ ।

संयुक्त राष्ट्रसंघले परिवार, अभिभावक र स्याहारकर्तालाई बालबालिकाको पहिचान, माया, हेरचाह, सुरक्षा र आर्थिक स्थायित्वका मुख्य आधारका रूपमा व्याख्या गर्दै उनीहरूको भूमिकालाई थप सशक्त बनाउन विश्व समुदायलाई आह्वान गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै