काठमाडौँ । विश्वभरमा आधुनिक सहर र अग्ला भवन निर्माण तीव्र गतिमा बढ्दै गएको छ । तर यही विकासको गतिले वातावरणमा गम्भीर संकट थपिरहेको संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार विश्वमा हरेक हप्ता करिब एक नयाँ 'पेरिस सहर' बराबरको निर्माण भइरहेको छ । प्रत्येक दिन करिब १ करोड २७ लाख वर्ग मिटर क्षेत्रफलमा नयाँ संरचना बन्ने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र भवन तथा निर्माण सम्बन्धी विश्व गठबन्धनको प्रतिवेदन अनुसार निर्माण क्षेत्र अहिले विश्वको कुल कार्बन उत्सर्जनको करिब ३७ प्रतिशत हिस्सा ओगटेको छ । साथै विश्व ऊर्जा खपतमा यसको हिस्सा २८ प्रतिशत पुगेको छ । यसले निर्माण गतिविधि बढेसँगै प्रदूषण र ऊर्जा खपत दुवै तीव्र गतिमा बढिरहेको देखाउछ ।
विशेषज्ञहरूका अनुसार निरन्तर बढ्दो कङ्क्रिट संरचना, वन विनाश र तीव्र शहरीकरणले शहरहरूको तापक्रम बढाइरहेको छ । यसले जलवायु परिवर्तन, गर्मीको लहर, प्रदूषण र ऊर्जा संकटलाई थप गम्भीर बनाइरहेको छ । भारतसहित दक्षिण एसियाका तीव्र विकासशील देशका ठूला शहरहरू क्रमशः अत्यधिक तातो क्षेत्रतर्फ रूपान्तरण हुँदै गएको पनि उल्लेख गरिएको छ ।
प्रतिवेदनले भारत र दक्षिण–पूर्व एसियामा सडक, भवन, मल, कार्यालय तथा आवासीय संरचना तीव्र रूपमा बढिरहेको जनाएको छ । तर यससँगै वातावरणीय दबाब पनि बढ्दै गएको छ । शहरमा हरियाली घट्दै जानु र कङ्क्रिट बढ्दै जानुका कारण 'ताप द्वीप प्रभाव' देखा परेको वैज्ञानिकहरूको भनाइ छ । यसले शहरको तापक्रम वरपरका ग्रामीण क्षेत्रभन्दा धेरै उच्च बनाउने गरेको छ । यही कारण दिल्ली, मुम्बई, बेंगलुरु र हैदराबादजस्ता सहरमा गर्मी बढिरहेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इङ्गर एन्डरसनका अनुसार सन् २०५० सम्म विश्वका आधा भवनहरू अझै निर्माण वा पुनर्निर्माण गर्न बाँकी रहनेछन् । उनले सरकारहरूसँग अहिले नै वातावरणमैत्री निर्माण प्रणाली अपनाउने अवसर रहेको बताएकी छन् । विज्ञहरूका अनुसार स्वच्छ र ऊर्जा–दक्ष निर्माणका लागि सन् २०३० सम्म करिब ५. ९ ट्रिलियन डलर लगानी आवश्यक पर्नेछ । समयमै कदम नचालिए भविष्यमा अवस्था झन् जटिल बन्न सक्ने चेतावनी दिइएको छ ।
विशेषज्ञहरूको भनाइमा शहरको विस्तार पूर्ण रूपमा रोक्न सम्भव छैन, तर विकासलाई दिगो बनाउन सकिन्छ । ऊर्जा बचत गर्ने भवन, हरियाली विस्तार, वर्षा पानी संकलन र नवीकरणीय ऊर्जामा आधारित पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ । पुरानै शैलीमा निर्माण जारी रहेमा गर्मी, पानीको अभाव र प्रदूषण अझै खतरनाक स्तरमा पुग्न सक्ने चेतावनी पनि दिइएको छ ।
वैज्ञानिकहरूका अनुसार भविष्यका लागि “हरित सहर” अवधारणा अत्यावश्यक हुँदै गएको छ । यसअन्तर्गत वृक्षारोपण, प्राकृतिक जलस्रोत संरक्षण र वातावरणमैत्री निर्माण सामग्री प्रयोगमा जोड दिनुपर्ने सुझाव दिइएको छ । विकास र वातावरणबीच सन्तुलन कायम गर्न नीतिगत सुधार आवश्यक रहेको पनि विज्ञहरूले बताएका छन् । उनीहरूको चेतावनी छ—यदि अहिले नै निर्माण नीतिमा परिवर्तन गरिएन भने भविष्यमा ठूला सहरहरूमा जीवनयापन अझ कठिन बन्न सक्छ ।









