• २०८२ फाल्गुण १० आइतबार

टी-२० विश्वकपको सुपर आठमा आज पाकिस्तान र न्यूजील्याण्ड आमने सामने

kharibot

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुदैछन् । सुपर आठको पहिलो खेलमा आज पाकिस्तान र न्यूजील्याण्डबीच भिडन्त हुदैछ ।

श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । दुवै टोलीमा अनुभवी तथा प्रभावशाली टी-२० खेलाडीहरूको उपस्थिति रहेकाले खेल बराबरीको प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

समुह चरणमा पाकिस्तानले भारतसँग हार बेहोरेको थियो भने न्यूजील्याण्डले दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो ।

श्रीलङ्काको पिच अवस्थाबारे राम्रो अनुभव रहेको कारण पाकिस्तान आत्मविश्वासमा देखिएको छ । टोलीले स्पीन बलिङलाई प्राथमिकता दिँदै सन्तुलित आक्रमण तयार पारेको छ, जसले समूह चरणमा राम्रो नतिजा दिएको थियो । मध्य ओभरमा खेल नियन्त्रण गर्ने योजनासहित पाकिस्तान मैदान उत्रने तयारीमा छ । यद्यपी पाकिस्तानको स्पीन बलिङ भारतविरुद्ध भने प्रभावकारी बन्न सकेको थिएन ।   ब्याटिङतर्फ सुरुवाती क्रमबाट तीव्र रन बनाउने रणनीति अपनाइने संकेत देखिएको छ ।

साहिबजादा फरहान र सलमान अली आघाजस्ता खेलाडीले सुरुदेखि नै दबाब सिर्जना गर्ने लक्ष्य लिएका छन् । पाकिस्तानका प्रमुख खेलाडीमा साहिबजादा फरहान र उस्मान तारिक देखिएका छन् ।  नामीबियाविरुद्ध शतक प्रहार गरेपछि फरहान उत्कृष्ट लयमा छन् । आक्रामक सुरुवात दिलाउने क्षमताका कारण उनी फेरि पनि टोलीका लागि निर्णायक बन्न सक्छन् । त्यस्तै यस प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका उस्मान तारिक मध्य ओभरका मुख्य हतियार मानिन्छन् । उनको विविधता र विकेट लिने क्षमताले खेलको दिशा बदल्न सक्छ ।

त्यस्तै न्युजील्याण्डले यस प्रतियोगितामा आफ्नो बलियो ब्याटिङ लाइनअपमा भर गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ । तर कोलम्बोको पिचमा आक्रामक खेल सजिलो नहुने भएकाले मध्य ओभरमा संयमित ब्याटिङ आवश्यक हुनेछ । ठूलो योगफल बनाउनेभन्दा खेल अन्तिमसम्म तान्ने रणनीति अपनाइने सम्भावना छ । बलिङतर्फ न्युजिल्याण्डसँग पनि प्रभावशाली स्पिनर तथा तीव्र गतिका बलर छन्, जसले पाकिस्तानका ब्याटरलाई दबाबमा राख्ने प्रयास गर्नेछन् । न्युजिल्याण्डका प्रमुख खेलाडीमा फिन एलन र लकी फर्ग्युसनलाई मान्न सकिन्छ । पावरप्लेमा आक्रामक सुरुवात दिलाउने एलन न्युजिल्याण्डका मुख्य हतियार हुन् । उनको छिटो रनले टोलीलाई बलियो आधार दिन सक्छ । त्यस्तै तीव्र गतिका बलर फर्ग्युसन सुरुवाती विकेट लिन सक्षम छन्। पिचअनुसार गति र विविधता प्रयोग गर्न सक्ने क्षमताले उनलाई पाकिस्तानका ब्याटरका लागि चुनौतीपूर्ण बनाउँछ ।

सम्भावित टोली

पाकिस्तान: साहिबजादा फरहान, साइम अयूब, सलमान आघा (कप्तान), बाबर आजम, उस्मान खान (विकेटकिपर), अबरार अहमद, शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, शाहिन अफ्रिदी र उस्मान तारिक ।

न्युजील्याण्ड: फिन एलन, टिम सिफर्ट (विकेटकिपर), रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, ड्यारिल मिचेल, मिचेल सान्टनर (कप्तान), जेम्स नीशाम, म्याट हेनरी, लकी फर्ग्युसन र ज्याकोब डफी ।

सुपर आठ चरणको यो महत्वपूर्ण भिडन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । पाकिस्तानले स्पिन आक्रमणमार्फत खेल नियन्त्रण गर्ने प्रयास गर्नेछ भने न्युजील्याण्डले आक्रामक ब्याटिङमार्फत ठूलो चुनौती प्रस्तुत गर्ने लक्ष्य राखेको छ । दुवै टोली उत्कृष्ट तयारीका साथ मैदान उत्रने भएकाले दर्शकले उच्चस्तरीय खेलको आनन्द लिन पाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै