काठमाडौँ । थाइल्याण्डको उत्तरी चियाङ माई प्रान्तका पर्यटकीय वन्यजन्तु पार्कहरूमा फैलिएको घातक भाइरसका कारण कम्तीमा ७२ वटा बन्दी बाघको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार फेब्रुअरी ८ देखि १९ बीच टाइगर किङडम माए टाएन्ग मा ५१ र टाइगर किङडम माए रिममा २१ बाघ मरेका हुन् ।
प्रारम्भिक परीक्षणमा मृत बाघहरूमा ‘फेलाइन पार्भोभाइरस’संक्रमण पुष्टि भएको छ । यसका साथै केही नमूनामा क्यानाइन डिस्टेम्पर भाइरस (सिडीभी) र माइकोप्लाज्मा ब्याक्टेरिया समेत भेटिएको जनाइएको छ । इन्फ्लुएन्जा ए (बर्ड फ्लु) भने नदेखिएको अधिकारीहरूले स्पष्ट पारेका छन् ।
फेलाइन पार्भोभाइरस अत्यन्त संक्रामक र प्रायः घातक रोग हो, जसले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउँछ। क्यानाइन डिस्टेम्परले फोक्सो, पेट र कहिलेकाहीँ मस्तिष्कमा असर गर्ने जनाइएको छ ।
थाइल्याण्डको पशुधन विकास विभागका महानिर्देशक सोमचुआन रतनामुङ्क्लानोनले बाघको उपचार कुकुर-बिरालोभन्दा जटिल हुने बताए । उनका अनुसार बन्दी बाघहरूमा इनब्रिडिङ (नजिकको रक्तसम्बन्धीय प्रजनन) का कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुनसक्छ, जसले संक्रमण तीव्र बनाएको छ ।
अधिकारीहरूले मे रिम पार्क १४ दिनका लागि अस्थायी रूपमा बन्द गरेका छन् भने दुवै पार्कमा प्रवेश सीमित गरिएको छ । बाँकी जीवित बाघहरूलाई क्वारेन्टाइन तथा विशेष हेरचाह केन्द्रमा सारिएको छ र स्वस्थ जनावरलाई खोप लगाउने तयारी भइरहेको छ ।
यस घटनापछि पशु अधिकारवादी संस्था पेटा एशियाले बन्दी अवस्थामा राखिएका बाघहरूको संरक्षण र व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ ।
यसअघि पनि सन् २००४ मा बर्ड फ्लु फैलिँदा थाइल्याण्डका चिडियाखानामा १४७ बाघ मरेका वा मारिएका थिए । अहिलेको प्रकोपले फेरि एकपटक बन्दी वन्यजन्तु व्यवस्थापनप्रति चिन्ता बढाएको छ।









