• २०८२ माघ २६ सोमबार

भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टिपछि नेपाल सीमामा सतर्कता बढाइयो

kharibot

विराटनगर । भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टि भएपछि नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता बढाइएको छ । कोशी प्रदेश सरकारले झापा, मोरङ र इलामका प्रमुख नाकामा प्राथमिक स्वास्थ्य स्क्रिनिङ र निगरानी शुरु गरेको हो । काँकडभिट्टा, पशुपतिनगर, जोगवनी र भण्टाबारी नाकामा तापक्रम जाँच, लक्षण मूल्यांकन तथा जोखिम देखिए रिफर गर्ने व्यवस्था शुरु गरिएको छ ।

झापा जिल्लामा अस्थायी हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरिएको छ भने सीमा क्षेत्रमा चेतनामूलक सूचना सामग्री राख्न थालिएको छ । पश्चिम बंगालका उत्तर २४ परगना लगायत जिल्लामा संक्रमण पुष्टि भएसँगै भारतमा उच्च सतर्कता घोषणा गरिएको छ । निपाह भाइरस उच्च मृत्युदर भएको सङ्क्रामक रोग हो, जसको हालसम्म खोप वा निश्चित उपचार छैन । नेपालमा संक्रमण पुष्टि नभए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा सतर्कता अपनाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयले निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको छ ।

निपाह भाइरस सङ्क्रमित चमेराको र्‍याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा सङ्क्रमण हुनसक्ने, सङ्क्रमित व्यक्तिको रगत थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेरोबाट सुँगुर हुँदै पनि मानिसमा यो सङ्क्रमण सर्नसक्ने मन्त्रालयले जनाएको छ ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, चकर लाग्ने, खोकी लाग्ने, सास फेर्न गाहो हुने, वाकवाकी लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउने, अचेत हुनेलगायत शङ्कास्पद लक्षण देखिएका बिरामीको शीघ्र पहिचान गर्न आइसोलेसनमा राखेर रिपोर्टिङ गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण मापदण्ड कडाइका साथ पालना गर्न गराउन पनि मन्त्रालय सबै सरोकार भएका सबैलाई अनुरोध गरेको छ ।

शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्नसमेत आग्रह गर्दै मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसका घटना पुष्टि नभएका तथा स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई फलफूल राम्ररी पखालेर मात्र खान, तरकारी राम्रोसँग पकाएर खान, सफा र सुरक्षित पानी उमालेर मात्र पिउन, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पत्रा र मास्क प्रयोग गर्ने, बेलाबेलामा साबुन पानीले हात धुने तथा भिडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै