काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्ष यात्री बुच विल्मोर र सुनिता विलियम्सको स्थानमा अन्य अन्तरिक्ष यात्रीहरूलाई तैनाथ गर्न एक दिन अघि नै उडान भरेको स्पेसएक्सको अन्तरिक्ष यान आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको छ । यससँगै सुनिता बुचको पुनरागमनको बाटो खुलेको छ ।
संयुक्त राज्य अमेरिका, जापान र रुसको प्रतिनिधित्व गर्दै चार नयाँ अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेका छन् । अबको एक दुई दिनमै सुनिता र बुच पृथ्वीमा फर्किन सक्ने बताइएको छ । यद्यपी नासा र स्पेसएक्सले उनीहरु कहिलेसम्म फर्किन्छन् भन्ने बारेमा स्पष्ट जानकारी दिएका छैनन् ।
अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर लगभग दश महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् । उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो ।