• २०८१ फाल्गुण २० मंगलबार

पर्यटकमैत्री व्यवहार गर्न कर्मचारीलाई गृहमन्त्रीको आग्रह

kharibot

भैरहवा । रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालय आफ्नै सुविधायुक्त भवनमा सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रका बिच गृहमन्त्री रमेश लेखकले उक्त भवनको समुदघाटन गरेका छन् । 

भवनको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले नाकामा बनेका पूर्वाधारहरुले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रुपमा स्थापित गरेको बताए । मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको जनाउँदै उनले सेवाप्रवाह चुस्त हुनुपर्नेमा जोड दिए ।

उनले भने- 'पछिल्ला दिनमा सबै ठाउँँबाट पर्यटक आगमन राम्रो छ । यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पयर्टकको सम्भाना छ । हामीले पर्यटनमैत्री वातावरण बनाइरहेका छौं, पर्यटक आगमनलाई व्यवस्थित गरिरहेका छौं । हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउँछ ।'

गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुले पर्यटक र आमसेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने बताएका बताए । उनले कर्मचारीहरुको व्यवहारले मुलुकको अवस्था बताउने भन्दै सचेत भएर राम्रो सौहार्दपूर्ण तरिकाले सेवा दिन आग्रह गरे । 

'अध्यागमन भनेको मुलुकको ऐना हो', उनले भने- 'कर्मचारीहरुले सेवा दिँदा सभ्यता र विनम्रता पूर्वक ढंगले दिनुपर्छ । कहिलेकाही पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन् तर यस्तोबला हाम्रो व्यवहार विनम्रता पूर्वक प्रस्तुत हुनुपर्छ । सेवाको भावनाले काम गर्नुपर्छ । कुनै पनि कर्मचारीले रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्न हुँदैन । यस्तो छुट कसैलाई पनि छैन ।'

उनले कार्यालयहरुमा हुने व्यवहारबाट जनताले सुख पाए २० जनालाई राम्रो भन्ने तर एकजनाले पनि दुःख पाए त्यसले धेरैलाई नराम्रो प्रभाव पार्नसक्ने जनाए । ।

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा संकेतहरु देखा परेको उनको दावी छ । उनले सरकारका कामको निजी क्षेत्रबाट प्रशंसा भएको समेत जनाए । 

भ्याटसहित १० करोड २५ लाख लागतमा कार्यालय भवन निर्माण गरिएको हो । भगवती गौरीशंकर जेवीले निर्माण गरेको उक्त भवन बेसमेन्टसहित ६ तल्लाको छ । अपांगमैत्री र भूकम्प प्रतिरोधी रहेको यो कार्यालय भवनमा अग्नि नियन्त्रण उपकरण जडित छ । यहाँबाट विदेशी नागरिकलाई आगमन, प्रगामन, पर्यटक भिसा जारी र नविकरण गर्ने, एनआरएन भिषा जारी र नविकरण लगायतका काम हुँदै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै