काठमाडौँ । सरकार र नो-केबलकार पक्षबीच आइतवार भएको वार्ता निष्कर्षविहीन बनेको छ ।
सरकारी वार्ता टोलीका संयोजक नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराईले केही समय पछि सरकारी वार्ताटोलीका तर्फबाट विज्ञप्ती जारी हुने र त्यसपछि मात्र थप जानकारी दिन सकिने जानकारी दिएका छन् ।
वार्ता टोलीमा सहभागी नो-केबलकार पक्षका वार्ता टोली सदस्य खगेन्द्र माखिमले आजको वार्तामा केही पनि निश्कर्ष ननिस्किएको बताए । वार्ता भंग भने नभएको बताउदै उनले वार्ताको वातावरण अब सरकार आफैले बनाउनुपर्ने र आजको वार्तामा यसअघि सरकारसँग भएका सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको कुरा राखेको बताए ।
आफुहरुले केबलकार निर्माण खारेजी हुनु पर्ने विषय उठाएको र सरकारका तर्फबाट केवलकार निर्माणका समस्या भए सुधार्ने मात्र विषय आएको माखिमले बताएका छन् ।
गत माघ २२ गते भएको वार्ता आज माघ २७ गते पुनः बस्नेगरी ६ बुँदे सहमतिका साथ सकिएको थियो । सो सहमति अनुसार आन्दोलनरत पक्षले माघ १५ गतेदेखि जारी राखेको बन्दका कार्यक्रम स्थगन गरेको थियो भने सरकार पक्षले नो केवलकार पक्षका पक्राउ परेका कार्यकता रिहा गरेको थियो ।