• २०८१ माघ २४ बिहीबार

प्यालेस्टाइन राज्य बन्नुपर्नेमा साउदी अरेबियाको अडान, ट्रम्प र इजरायललाई झट्का

kharibot

काठमाडौँ । साउदी अरेबियाले प्यालेस्टाइन राज्य नबनेसम्म इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना नगर्ने बताएर डोनाल्ड ट्रम्प र इजरायललाई ठुलो झट्का दिएको छ ।

साउदी अरेबियाले प्यालेस्टाइनलाई छुट्टै देश बनाउने आफ्नो मागबाट पछि नहट्ने स्पष्ट गरेको छ । साउदी अरेबियाको यो बयान यस्तो समयमा आएको हो जब अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा नियन्त्रण राख्ने अमेरिकी चाहना व्यक्त गरेका थिए ।

साउदी अरेबियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी राज्य निर्माण गर्ने आफ्नो दृष्टिकोण दृढ रहेको र यो परिवर्तन नहुने स्पष्ट पारेको छ ।

१८ सेप्टेम्बर २०२४ मा शूरा परिषद्को पहिलो सत्रमा युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानले पनि प्यालेस्टाइनलाई छुट्टै राज्यको रूपमा स्थापना गर्ने कुरालाई स्पष्ट र दृढतापूर्वक समर्थन गरेका थिए । युवराजले पूर्वी जेरुसेलमको राजधानी भएको छुट्टै प्यालेस्टिनी राज्यको स्थापनालाई समर्थन गरिरहने र यो नभएसम्म इजरायलसँग कुनै पनि कूटनीतिक सम्बन्ध स्थापित नहुने कुरामा जोड दिएका थिए ।

साउदी अरबको विदेश मन्त्रालयले अगाडी भनेको छ- 'साउदी अरबले प्यालेस्टिनी जनताको अधिकारको कुनै पनि इन्कारको विरोध गर्दछ, चाहे त्यो पुनर्वास नीति, भूमि कब्जा वा प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट विस्थापित गर्ने प्रयास मार्फत होस् । प्यालेस्टाइनको मुद्दामा साउदी अरेबियाले कुनै पनि सम्झौता गर्नेछैन ।'

ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको स्वामित्व अमेरिकाले कायम राख्ने र गाजामा पुनर्निर्माणको काम अमेरिकाले नै गर्नुपर्ने बताएपछि साउदी अरेबियाको यस्तो बयानले ट्रम्प र नेतान्याहूलाई ठुलो झट्काको रुपमा विश्लेषण गरिएको छ । ट्रम्पले भनेका थिए- 'अमेरिकाले गाजामा जीर्ण भवनहरू भत्काएर र भग्नावशेष हटाएर पुनर्निर्माणको काम गर्नुपर्छ र त्यहाँ आर्थिक विकास गर्नुपर्छ ताकि मानिसहरूले रोजगारी र राम्रो घरहरू पाउन सकून्।' 

ट्रम्पले गाजाबाट विस्थापित मानिसहरूलाई गाजा बाहिर बसोबास गर्नुपर्ने पनि बताए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि ट्रम्पको सुझावको प्रशंसा गर्दै यदि यो भयो भने यसले इतिहास बदल्ने बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै