काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्न लागेको फिल्म ‘पहाड’ को छायांकन सुरु भएको छ । मंगलबार गोर्खा दरबारमा पूजा गरेपछि मुहूर्त सटसँगै फिलमको छायांकन सुरु भएको हो ।
अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले मुहूर्त सट दिएका थिए ।
सामाजिक विषयवस्तुमा फिल्म बनाउने निर्देशक घिमिरेले यस फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथा उठान गर्दै छन् ।
फिल्मको कथा पनि निर्देशक घिमिरेले नै लेखेका छन् । फिल्मको छायांकन गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन हुने बताइएको छ । फिल्ममा विपीन कार्की, सुनील थापालगायत कलाकारको पनि अभिनय रहेको छ ।