काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २९२ वटा सवारी साधनको प्रदुषण चेकजाँच गर्दा १७४ वटा अर्थात ६० प्रतिशत सवारी साधन प्रदुषण फेल भएका छन् । यसमध्ये पेट्रोलबाट चल्ने ७१ वटा सवारी साधन चेकजाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने २२१ वटा चेकजाँच गर्दा १६० वटा फेल छन् ।
सवारी साधनबाट वायु प्रदुषणमा पार्ने असर घटाउन महानगरपालिकाले चेकजाँच गरिरहेको छ । यस क्रममा फेल भएका सवारी साधनहरुलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको छ । पुस २९ गतेदेखि थालिएको यो सचेतनात्मक कार्यक्रम नियमित चलिरहेको छ । यस कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा नभएका सवारी साधनहरुलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको कारबाही गर्ने महानगरपालिकाको तयारी छ ।
अहिलेसम्ममा कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण भएको छ । चेकजाँचका क्रममा फेल भेटिएका सवारी साधनहरुमा, सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कूल बस, सरकारी कार्यालयले सञ्चालन गरेको बुलेरो, सामान बोक्ने ट्रकलगायतका सवारी साधन छन् ।
सवारी साधन चेकजाँचका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा गरेको छ ।