पोखरा । पोखरा महानगरपालिकाको तालबन्दी खोल्ने सहमति भएको छ ।
नगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूबीच पोखरा उपत्यका नगर विकास समितिको सभाहलमा भएको छलफलपछि ताला खोल्ने सहमति जुटेको हो ।
सहमतिअनुसार महानगरको १६ औं नगरसभा यही माघ २६ गते (शुक्रबार) दिउँसो १ बजे बस्ने तय गरिएको छ ।
यस सहमतिपछि महानगरका विभिन्न कार्यालय तथा विकास निर्माणका अवरुद्ध कार्य पुनः सञ्चालनमा आउने विश्वास गरिएको छ। छलफलमा ३ बुँदे सहमति बनेको छ, जसमा नगरसभा आह्वान, विकास कार्यको पुनः सुरुआत, र सुशासन तथा समृद्धिका लागि एकताबद्ध प्रयासको प्रतिबद्धता उल्लेख गरिएको छ ।
१६औं नगरसभा माघ ११ गते बस्ने, विकास कार्य पुनः सुचारु गर्ने र यस अघि मङ्सिर २३ गतेको सहमति अक्षरस पालना गर्ने सहमति भएको छ ।
मेयर आचार्यले बहुमत सदस्यको उपस्थिति हुँदा हुँदैपनि नगरसभा स्थगित गरेको भन्दै कांग्रेसले सोमबार प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
करारका कर्मचारी नियुक्तिको विषयलाई लिएर पोखरा महानगरमा लामो समयदेखि विवाद छ । एमालेका जनप्रतिनिधिहरुले करारका कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न दवाब दिँदै नगरसभा बहिस्कार गरेका थिए । त्यसपछि मेयर आचार्यले नगरसभा स्थगित गरेका थिए ।