काठमाडौँ । फिल्म ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘महाभोज’को छायांकन सुरु गरेका छन् ।
गत माघ १ गते काठमाडौंमा मुहूर्त गरिएको फिल्मको मंगलबारदेखि पोखराको घाचोकबाट छायांकन शुरु गरिएको हो । अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले फिल्मका लागि पहिलो सट दिएका थिए । ४५ दिनको तालिकामा सम्पूर्ण छायांकन पोखराको सेरोफेरोमा हुने बताइएको छ ।
हिमाल कडरिया निर्माता रहेको फिल्ममा खगेन्द्र र मोहनसहित आर्यन सिग्देल, दयाहाङ राई, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धरा भुसाल, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने लगायतको अभिनय रहनेछ । फिल्मको कथा सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेविरुद्ध रहेको जनाइएको छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माणमा सहकार्य गरेको फिल्ममा विकास सुवेदीको लेखन छ । यसअघि उनले ‘प्रकाश’ र ‘पूजार सार्की’को स्क्रिप्ट लेखेका थिए । राजेश श्रेष्ठले छायांकनको जिम्मेवारी सम्हालेको फिल्मको कार्यकारी निर्माताहरूमा किरण नेपाली र सुदिप ढकाल रहेका छन् । निमेष श्रेष्ठको सम्पादन रहने फिल्मलाई आगामी वर्षको जेठमा रिलिज लक्ष्य राखिएको छ ।