काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ७५ दिनको समय दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
आफ्नो कार्यकालको पहिलो दिन ट्रम्पले टिकटकले अमेरिकी कानुन अनुसारको व्यवस्था गर्न ७५ दिनको समय दिएका हुन् ।
यसअघि बन्द भएको टिकटक ट्रम्पको आश्वासनपछि, टिकटकले अमेरिकामा आफ्नो सेवाहरू पुनः सुरु गरेको थियो ।
टिकटकले अमेरिकामा जनवरी १९ मा प्रतिबन्धमा पर्नु अघि आफ्नो गतिविधि बन्द गरेको थियो ।
गत शुक्रबार, अमेरिकी सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला सुनाएपछि टिकटक मुश्किलमा परेको थियो ।
अमेरिकाले टिकटकमा चिनियाँ लगानी रहेको र अमेरिकी प्रयोगकर्ताको सुचनामा चीनले पहुँच बनाएको भन्दै टिकटकलाई अमेरिकी लगानी कर्तालाई बेच्न वा प्रतिबन्ध लगाउन कानुन बनाएको थियो । यो कानुन गत बर्षनै अमेरिकी संसदले पारित गरेको थियो । यसका लागि अमेरिकाले टिकटकलाई जनवरी १९, २०२५ सम्मको समय दिएको थियो ।
अमेरिकामा टिकटकका सबैभन्दा बढी १७० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।