काठमाडौँ । इजरायलको अति दक्षिणपन्थी यहूदी शक्ति पार्टीले युद्धविराम सम्झौताको विरोधमा सरकार छोड्ने घोषणा गरेको छ ।
युद्धविरामको घोषणा पछि राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-ग्भिर, यित्जाक वासेरलाउफ र अमिचाई एलियाहुले राजीनामा दिएको बिबिसीले उल्लेख गरेको छ ।
बेन-ग्भिर लामो समयदेखि युद्धविराम सम्झौताको मुखर विरोधी रहेका थिए । उनले इजरायलले गाजामा हमास विरुद्धको सैन्य कारबाही जारी राख्न जोड दिइरहेका छन् ।
राजीनामाको घोषणा गर्न नेतान्याहूलाई पत्र लेख्दै बेन-ग्भिरले सरकारलाई उल्टाउन काम नगर्ने तर युद्धविराम सम्झौतालाई 'आतंकवादको पूर्ण विजय' भनेका छन् ।
यहूदी शक्ति पार्टीले सरकार छोडेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग सामान्य बहुमत मात्र बाँकी रहेको छ ।