कपिलवस्तु । कपिलवस्तुको जीतपुर-तौलिहवा सडक अन्तरगत कपिलवस्तुको बाणगंगा नगरपालिका-११ देउवापारमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
बुधबार साँझ नेपाली र भारतीय नम्बर प्लेट भएका दुई मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा यूपी ५५ ए एच ७०९० नम्बरको भारतीय मोटरसाइकल चालक, कपिलवस्तु शुद्धोदन गाउँपालिका–३ निवासी ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको नेपाली मोटरसाइकल चालक, सैनामैना–४ निवासी २७ वर्षीय रोमन थारु रहेका छन्। उनीहरूको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
दुर्घटनामा २६ वर्षीय अजय थारु घाइते भएका छन्। उनको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।