• २०८१ माघ ३ बिहीबार

इजरायल र हमासबीच युद्धविराम सम्झौता, तीन चरणमा सबै बन्धक रिहा हुने

kharibot

काठमाडौँ । ७ अक्टोबर २०२३ मा हमासको आक्रमणबाट सुरु भएको इजरायल र प्यालेस्टाइन बीचको युद्धले सम्पूर्ण विश्वलाई हल्लायो । १५ महिनासम्म चलेको यो युद्धमा सयौं मानिसहरूले ज्यान गुमाए । यसैबीच, धेरै देशहरूको प्रयासपछि, इजरायल अन्ततः युद्धविराम सम्झौता र कैदीहरूको रिहाइमा सहमत भएको छ ।

कतार र अमेरिकाले सम्झौताको घोषणा गरेको केही घण्टापछि विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँगको युद्धविराम सम्झौता अझै अन्तिम रूप नआएको र अन्तिम विवरण तयार भइरहेको बताए ।

यो सम्झौताले १५ महिना लामो द्वन्द्वको अन्त्य गर्ने र बन्धकहरूलाई उनीहरूका परिवारसँग पुनर्मिलनको लागि मार्ग प्रशस्त गर्ने लक्ष्य राखेको छ । 

यसैबीच, इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै इजरायली बन्धकहरूको रिहाई र फिर्तीप्रतिको प्रतिबद्धतामा जोड दिएका छन् ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले बुधबार संयुक्त विज्ञप्ति जारी गरे । इजरायल र हमासबीच युद्धविराम र सबै बन्धकहरूको रिहाइ हुने बताइएको छ । यो सम्झौता जनवरी १९, २०२५ देखि लागू हुनेछ र तीन चरणमा कार्यान्वयन हुने उल्लेख छ ।

यसका साथै, कतार, इजिप्ट र अमेरिकाले तीनवटै चरणहरू पालना गरिएको र सम्झौता पूर्ण रूपमा कार्यान्वयन भएको सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । यी देशहरूले संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गरेर यो प्रक्रियालाई सफल बनाउने वाचा पनि गरेका छन् ।

इजरायलको शान्ति सम्झौता सम्बन्धी सम्झौता कुल तीन चरणमा हुने भनिएको छ ।

पहिलो चरणमा युद्धविराम र वार्ताको सुरुवात, हमासले ३३ इजरायली जना बन्धकहरूको रिहाइ गर्ने र यस अवधिमा इजरायली सेना गाजाबाट फिर्ता हुनेछ र मानवीय सहायता पठाइने उल्लेख छ ।

त्यस्तै दोस्रो चरणमा युद्धविरामको १६ दिन पछि बन्धकहरूको पूर्ण रिहाइ, इजरायली सेना गाजाबाट पूर्ण रूपमा फिर्ता गरिने उल्लेख छ । यद्यपि, इजरायलले हमासको सैन्य शक्ति नष्ट नभएसम्म पूर्ण रूपमा पछि हट्न तयार नभएको बताएको छ ।

त्यसैगरी तेस्रो चरणमा बाँकी बन्धकहरूको शव फिर्ता र युद्धबाट नराम्ररी क्षतिग्रस्त गाजाको पुनर्निर्माणको सुरुवात गरिने उल्लेख छ ।

यो सम्झौता इजरायली मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि मात्र लागू हुने सम्झौतामा उल्लेख छ ।

बुधबार, मध्यस्थकर्ता वार्ताकारहरूले सम्झौताले सुरुवाती छ हप्ताको लागि लडाईं रोकिने बताएका थिए । यसपछि, पूर्ण युद्धविरामको बारेमा छलफल गरिने बताइएको छ । कतारको राजधानीमा हप्ता दिनसम्म चलेको कडा वार्तापछि भएको सम्झौतामा हमासद्वारा बन्धक बनाइएका दर्जनौं बन्धकहरूको चरणबद्ध रिहाइ गर्न हमास र इजरायल सहमत भएका हुन् । इजरायलले आफ्नो हिरासतबाट सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न पनि सहमति जनाएको छ ।

यति मात्र होइन, यो सम्झौतासँगै गाजामा विस्थापित लाखौं मानिसहरू अब आफ्नो घर फर्कनेछन् । 

वार्ताकारहरूले छ हप्ताको युद्धविरामको बीचमा लगभग १०० बन्धकमध्ये ३३ जनालाई रिहा गरिने बताएका छन्। यसपछि, अरूलाई पनि चरणबद्ध रूपमा रिहा गरिनेछ। अर्कोतर्फ, कति जना विस्थापित प्यालेस्टिनीहरू आफ्नो घर फर्कन सक्षम हुनेछन् भन्ने कुरा स्पष्ट छैन ।

हाल हमासको नियन्त्रणमा रहेका भनिएका ९४ जना बन्धक मध्ये ३४ जनाको मृत्यु भइसकेको अपुष्ट रिपोर्टहरु सार्बजनिक भएका छन् । यसअघि हमासले कैयौं बन्धकको मृत्यु भएको बताएको छ तर अहिले हमाससँग कति बन्धक जीवित छन् भन्ने स्पष्ट जानकारी रहेको छैन ।

हमासले नेपाली युवा विपिन जोशीलाई बन्धक बनाएको छ भने उनी जिवितै रहेको दाबि विभिन्न रिपोर्टहरुमा गरिएको छ । यो सहमतिपछि अब विपिनको घर फिर्ती सम्भव भन्ने देखिएको छ ।

युद्धविरामको घोषणापछि इजरायल र प्यालेष्टाइनमा मानिसहरुले खुशी मनाएका थिए । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै