• २०८१ माघ २ बुधबार

भारत-बंगलादेश सीमामा बार लगाउने विषय विवादमा

kharibot

काठमाडौँ । भारत-बंगलादेश सीमामा बार लगाउने विषयमा विवाद बढेको छ । यस विवादका बीच भारतले सोमबार बंगलादेशका उपउच्चायुक्त नुरुल इस्लामलाई बोलाएर यो विषय स्पष्ट गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार भारतले नुरुल इस्लामलाई बताएअनुसार सीमामा बार लगाउने काम प्रोटोकल अनुसार भइरहेको छ र यसमा दुई देशबीचको सम्झौताको पालना गरिएको बताएको हो ।

भारतले सीमामा लिइएका सुरक्षा उपायहरूमा प्राविधिक उपकरणहरू जडान, सीमामा बत्ती जडान र गाईवस्तु रोक्न काँडेतार लगाउने समावेश रहेको बताएको छ । यस समयमा, भारत सरकारले सीमापार तस्करीको मुद्दा पनि उठाएको रिपोर्टमा उल्लेख छ ।

यसअघि आइतबार बंगलादेशले भारतीय उच्चायुक्तलाई बोलाएको थियो । बंगलादेशी विदेश मन्त्रालयले भारतीय उच्चायुक्त प्रणय वर्मालाई बोलाएर सीमामा बीएसएफले गरिरहेको बार लगाउने कामलाई गैरकानूनी प्रयास भएको भन्दै आपत्ति जनाएको थियो ।

बंगलादेशले भारतले द्विपक्षीय सीमा सम्झौताको उल्लङ्घन गर्दै सीमामा पाँच स्थानमा बार लगाउन खोजिरहेको आरोप लगाएको छ । यद्यपि, बंगलादेशको अन्तरिम सरकारले यस विषयमा कुनै वक्तव्य भने जारी गरेको छैन ।

बैठकपछि भारतीय उच्चायुक्तले सुरक्षाको विषयमा दुवै देशले बार लगाउन सहमति जनाएको बताए । दुवै देशका सुरक्षा बलहरूले पनि यस विषयमा कुरा गरेका छन् ।

बंगलादेशका गृह मामिला सल्लाहकार जहाँगीर आलम चौधरीले बंगलादेशले आफ्नो सीमामा कसैलाई पनि ठाउँ नदिने बताएका थिए । उनले सीमामा शून्य रेखाको १५० यार्ड भित्र कुनै पनि रक्षा सम्बन्धी काम गर्न अनुमति नदिइने स्पष्ट गरेका थिए । जहाँगीर आलमका अनुसार बंगलादेश र भारतबीच भएको सम्झौता, ‘बंगलादेश-भारत संयुक्त सीमा निर्देशिका-१९७५’ अनुसार, दुवै देशको शून्य रेखाको १५० यार्ड भित्र कुनै पनि रक्षा सम्बन्धी गतिविधि निषेध गरिएको छ । 

भारत र बंगलादेश बीच ४,१५६ किलोमिटर सीमा छ। यसमध्ये भारतले ३२७१ किलोमिटर सीमामा बार लगाइसकेको छ, तर ८८५ किलोमिटर सीमामा यो काम अझै बाँकी छ । भारतले सन् २०१० देखि २०२३ सम्म १६० स्थानमा बार लगाउने काम गरेको छ । बीएसएफले जनवरी १० बाट फेरि यो काम सुरु गरेपाची अहिले यो विवाद बढेको हो । 

अहिले विवाद चापाइनवाबगञ्ज, लालमोनिरहाटको तीन बिघा करिडोर, नाउगाँको पटनीतला, फेनी, कुष्टिया र कुमिल्लामा रहेको बताइएको छ ।

बंगलादेशको आपत्तिपछि बीएसएफले बार लगाउने काम रोकेको छ । बीएसएफले बंगलादेशलाई काँडेतारको बार लगाउने काम बन्द गर्ने आश्वासन दिएको छ ।

बंगलादेशमा सत्ता परिवर्तन भएपछि सेख हसिनाको भारत बसाईको विषयले दुई देशको सम्बन्ध खराब भइरहेको अवस्थामा फेरी सीमा विवादले भारत र बंगलादेशबीचको कुटनीतिक सम्बन्ध अझ बिग्रिन सक्ने विश्लेषण गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै