• २०८१ पौष ८ सोमबार

जनकपुर बोल्ट्सका समर्थकमाथि गरिएको आक्रमण असैह्य र पीडादायी- मुख्यमन्त्री सिंह

kharibot

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि विजेता जनकपुर बोल्ट्सका समर्थकमाथि खेल मैदान क्षेत्रमै भएको भौतिक आक्रमण तथा त्यसअघि पनि भएका त्यस्ता प्रकृतिका घटना असैह्य र पीडादायी रहेको बताएका छन् ।

आइतबार विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री सिंहले क्रिकेट प्रतियोगिताले देशको भूगोल र समुदायका नागरिकबीचको सद्भाव, सहिष्णुता र भाइचारालाई थप प्रगाढ बनाइरहेका बेला जनकपुर बोल्ट्सका समर्थकमाथि खेल मैदान क्षेत्रमै भएको भौतिक आक्रमण तथा त्यसअघि पनि भएका त्यस्ता प्रकृतिका घटना असैह्य र पीडादायी रहेको बताएका हुन् ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच एनपीएलको फाइनल खेलका क्रममा शनिबार केही अराजक र उपद्रवी समूहद्वारा जनकपुर बोल्ट्सका समर्थकमाथि गरिएको सांघातिक आक्रमणप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको मुख्यमन्त्री सिंहले बताएका छन् ।

उनले भनेका छन्- ‘खेलकुद प्रतिस्पर्धाका क्रममा दर्शकहरू स्वाभाविक रूपमा दुई पक्षमा विभाजित हुने र समर्थन दिने हुन्छ,’ उनले विज्ञप्तीमा भनेका छन्, ‘तर, त्यस कारणले नै एउटा पक्षले अर्को पक्षलाई साम्प्रदायिक संकीर्णता, दूराग्रह र द्वेषपूर्ण घृणाकै कारण भौतिक आक्रमण लगायतका दुर्व्यवहार गर्नु निन्दनीय र दुर्भाग्यपूर्ण छ ।’

जनकपुर बोल्ट्सका खेलाडी तथा समर्थकमाथि दुराशय तथा विभेदपूर्ण नियतका साथ गरिएको अभद्र एवं अपमानजनक व्यवहार नेपालको संविधान तथा कानुन विपरीतको व्यवहार पनि भएको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘खेलकुद प्रतिस्पर्धालाई निहुँ बनाएर निश्चित समुदायलाई लक्षित गरी गरिएका अनुचित, अवाञ्छित तथा अनर्गल टीका–टिप्पणी सामाजिक, कानुनी र नैतिक सबै दृष्टिले दोषपूर्ण छन् । तसर्थ, दोषीलाई कारबाही गर्ने सन्दर्भमा संवेदनशिलताका साथ तत्परता अपनाउन सम्बन्धित निकायलाई आग्रहसमेत गर्दछु ।’


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै