• २०८१ पौष ८ सोमबार

क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्ध अविश्वासको प्रस्ताव आउदै

kharibot

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोविरुद्ध अविश्वासको प्रस्ताव आउने भएको छ । रोयटर्सका अनुसार न्यू डेमोक्रेटिक पार्टी (एनडीपी) नेता जगमीत सिंहले प्रधानमन्त्री ट्रुडोविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेका छन् । जगमीत सिंहले उनले अर्को महिना अल्पसंख्यक लिबरल सरकारलाई पतन गर्न कदम चाल्ने बताएका छन् ।

ट्रूडोविरुद्ध अविश्वास प्रस्ताव ल्याउन संसदको बैठक जनवरी २७ पछि बस्न सक्ने बताइएको छ । जगमीत सिंहको एनडीपी र जस्टिन ट्रुडोको लिबरल पार्टीले यस वर्ष सेप्टेम्बरमा सम्झौता तोडेका थिए । 

तर, गठबन्धनबाट बाहिरिएपछि पनि जगमीतले विगत ४ महिनादेखि ट्रुडोलाई सरकार कायम राख्न सघाउँदै आएका थिए । अब एनडीपीको प्रस्तावलाई विपक्षी दलहरूले समर्थन गरेमा ट्रुडोको सरकार ढल्ने निश्चित छ । ट्रुडो ९ वर्षदेखि क्यानडाको प्रधानमन्त्री रहेका छन् ।

ट्रुडोको पार्टीको संसदमा १५३ सिट छ । पार्टीलाई सत्तामा रहन थप १७ सिट चाहिन्छ । अहिलेसम्म २५ सिट भएको एनडीपीले समर्थन गर्दै आएको थियो । विपक्षी कन्जरभेटिभ पार्टीको १२० सिट छ । क्यानेडियन हाउस अफ कमन्समा ३३८ सीट छन् ।

देशमा भएका धेरै सर्वेक्षणका अनुसार क्यानडामा चुनाव भए कन्जरभेटिभ पार्टीले बहुमत ल्याउन सक्ने बताइएको छ ।

रिपोर्टका अनुसार जगमीत सिंहको अविश्वासको प्रस्ताव ल्याउनु उनको पार्टीका लागि पनि जोखिमपूर्ण हुनसक्छ किनभने सर्वेक्षणमा एनडीपी पनि निकै मतान्तरले पछाडि परेको छ ।

बहुमतका लागि ट्रुडोको पार्टीलाई अब क्युबेक पार्टी (३३ सिट) को समर्थन चाहिन्छ । यद्यपि, क्युबेक पार्टीले विपक्षी दललाई समर्थन गर्ने वाचा गरेको छ । कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले आफूले बल प्रयोग गरेर सरकार ढाल्ने प्रयास नगरेको बताए, अब ट्रुडोले संसदको विश्वास गुमाएको स्पष्ट भएको छ ।

लिबरल पार्टीमा पनि ट्रुडो विरुद्ध सांसदहरुको असन्तुष्टि बढ्दै गएको छ । अहिलेसम्म करिब २० लिबरल सांसदहरूले ट्रुडोलाई राजीनामा दिन आग्रह गरेका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै