• २०८१ पौष ६ शनिबार

काठमाडौँ महानगरमा पाँच महिनामा ४३ पूर्वाधार निर्माण योजना सम्पन्न

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माण सम्बन्धी योजना सम्पन्न गरेको छ । यसबाट ३७.३० किलोमिटर सडक कालोपत्रे भएको छ । नियमित सडक मर्मत कार्यक्रमअन्तर्गत ८.४० किलोमिटर, पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत १०.२० किलोमिटर, धुलोरहित सडक कार्यक्रमअन्तर्गत ९.४० किलोमिटर र क्रमागत कार्यक्रमबाट ९.३० किलोमिटर सडक निर्माण गरिएको हो ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा काठमाडौँ प्लाजामा आज बसेको बजेट तर्जुमा समितिको बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले अहिलेको प्रगतिका विषयमा जानकारी गराउनुभएको हो । सडक कालोपत्रे कार्यसँगै ५.८० किलोमिटर सडक ढलान गरिएको छ । १.१६ किलोमिटर ढल राख्ने, ६.४७ किलोमिटर सडकमा ब्लक छाप्ने र २ हजार ७० वर्गकिलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको छ । यस अवधिमा करिब ८८ करोड रुपैयाँको काम सम्पन्न भएको र ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ । 

समितिको बैठकमा ६ वटा विभागका प्रमुखहरुले विषयगत समितिका संयोजकहरुको रोहबरमा अहिलेसम्मको प्रगति पेश गर्दै चालु आर्थिक वर्षको बाँकी समयमा कार्यान्वयनमा लैजान नसकिने कार्यक्रम र यसको सट्टा सञ्चालन गर्न सकिने प्रस्तावित कार्यक्रमका बारेमा प्रस्तुतिकरण गरिसकेका छन् । विभागहरुले विषयगत समितिमा भएको छलफलका आधारमा प्रस्तुतिकरण गरिरहेका हुन् ।

अहिलेसम्ममा ६ वटा विभागको प्रस्तुतिकरण सकिएको छ । आज सूचना प्रविधि, सार्वजनिक निर्माण, शिक्षा, पार्क तथा हरियाली प्रवर्धन आयोजना र विपद व्यवस्थापन विभागको प्रस्तुतिकरण भएको थियो । 

छलफलमा उपप्रमुख डंगोलले, नतिजा बढाउन विभागले तर्जुमा गरेका आन्तरिक योजनाका विषयमा जानकारी मागएकी थिइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, विषयगत समितिका संयोजकहरुबाट प्राप्त भएका नीतिगत र कार्यक्रम सम्बन्धी सुझावलाई कार्यान्वयनमा लैजाने बताए । 

छलफलमा प्रवक्ता नविन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, विधायन समितिका संयोजक मचाराजा महर्जन, शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले धारणा राखेका थिए । 

क्रमागत योजनाको निरन्तरता, नयाँ योजनाको स्थान, क्रमागत योजनाले नयाँ योजनालाई पार्न सक्ने प्रभावलाई विभागहरुले अभिलेखन र मापन गर्नुपर्ने, केन्द्रबाट सञ्चालन हुने कार्यक्रम तथा योजनामा वडासँग समन्वय हुनु पर्नेमा उनीहरुको जोड छ । परामर्श सेवाबाट प्राप्त नतिजा मापन गर्नुपर्ने, श्रम वैङ्क र जनशक्ति परिचालनको व्यवस्थापनलाई नतिजासँग जोड्नु पर्ने, कार्यान्वयन आएका हरेक कार्यक्रमलाई नतिजासँग जोड्नु पर्नेमा उनीहरुको जोड छ । 

महानगरपालिकामा १६ (एउटा आयोजनासहित) वटा विभाग, ३१ वटा महाशाखा, ५५ वटा शाखा, ४ वटा सचिवालय, छन् । नगर सभा, नगर कार्यपालिका, प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विभागको संगठन संरचना छ । यससँगै प्रमुखअन्तर्गत सहरी योजना आयोग, स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, हनुमानढोका दरवार संरक्षण कार्यक्रम, जग्गा एकीकरण आयोजनाहरु (चमतीः, मनोहरा र नयाँबजार), अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय, सार्वजनिक निजी साझेदारी एकाइ र सल्लाहकार रहने व्यवस्था छ । 

उपप्रमुखमातहतमा न्यायिक समिति, राजस्व परामर्श समिति, कार्यक्रम तथा बजेट तर्जुमा समिति, बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति छन् । 

प्रमुख प्रशासकीय अधिकृत मातहतमा खरिद एकाइ, योजना अनुगमन तथा मूल्याङ्क एकाइ, महानगर प्रहरी बल र आन्तरिक लेखा परीक्षण तथा समपरीक्षण एकाइ छन् । प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका छुट्टाछुट्टै सचिवालय छन् । नगर सभाअन्तर्गत लेखा समिति, विधायन समिति र सुशासन समिति छन् । कार्यपालिकाअन्तर्गत वडा समिति, वडा कार्यालय र विषयगत समिति छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै