काठमाडौँ । जर्मन चान्सलर ओलाफ स्कोल्जले जर्मन संसदमा विश्वासको मत गुमाएका छन् । यससँगै फेब्रुअरीमा त्यहाँ प्रारम्भिक निर्वाचन हुने सम्भावना बढेको छ ।
नोभेम्बर ६ मा तीन दलको गठबन्धन पतन भएपछि स्कोल्जले अल्पसंख्यक सरकारको नेतृत्व गरिरहेका थिए । ७३३ सिट भएको तल्लो सदन (बुन्डेस्टाग) मा स्कोल्जलाई बहुमतका लागि ३६७ सांसदको समर्थन आवश्यक थियो । तर उनले २०७ सांसदको मात्र समर्थन पाएका छन् भने उनको विपक्षमा ३९४ सांसद उभिएका थिए । मतदानमा ११६ सांसदले अनुपस्थित रहेका थिए ।
जर्मनीको स्थिर अर्थतन्त्रलाई पुनरुत्थान गर्ने तरिकामा विवादका कारण स्कोल्जले हालै आफ्नो अर्थमन्त्रीलाई बर्खास्त गरेपछि गठबन्धन सरकारमा असमझदारी भएको थियो र धेरै प्रमुख दलका नेताहरु निर्धारित समयभन्दा सात महिना अगावै फेब्रुअरी २३ गते संसदीय निर्वाचन गराउन सहमत भएका थिए ।
जर्मनीको संविधानले दोस्रो विश्वयुद्ध पछि बुन्डेस्टागलाई विघटन गर्न अनुमति नदिने हुनाले स्कोल्जले विश्वासको मत लिनु परेको थियो । अब राष्ट्रपति फ्रान्क-वाल्टर स्टेनमेयरले संसद विघटन गर्ने वा नगर्ने निर्णय गर्नुपर्ने भएको छ ।
राष्ट्रपति स्टेनमेयरसँग अब चुनाव गराउने वा स्थगित गर्ने निर्णय गर्नका लागि २१ दिन मात्र बाँकी छ । जर्मनीको नियमअनुसार संसद विघटन भएपछि ६० दिनभित्र निर्वाचन गरिसक्नुपर्छ ।
स्कोल्जले बजेट र आर्थिक नीतिहरूमा असहमतिको कारण नोभेम्बरमा पूर्व अर्थमन्त्री क्रिश्चियन लिन्डनरलाई बर्खास्त गरेका थिए। यस अवस्थाबाट आक्रोशित, लिन्डनरको फ्री डेमोक्रेटिक पार्टीले गठबन्धनबाट बाहिरिने निर्णय गरेसँगै उनी अल्पमतमा परेका थिए ।