काठमाडौं । आजदेखि काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पहिलो संस्करण सुरू हुँदै छ । पहिलो दिन नेपालका दुई क्लबले दुई विदेशी क्लबको प्रतिस्पर्धा गर्दै छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पहिलो खेल दिउँसो तीन बजेबाट सुरू हुनेछ । हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । हेल्प नेपाल आठौं प्रधानमन्त्री कपको विजेताको रूपमा काभा क्लब भलिबल च्याम्पियनसिपमा सहभागी भएको हो । उसको टिममा तीन पाकिस्तानी खेलाडी छन् ।
आजै दिउँसो साढे पाँच बजे गण्डकी प्रदेश भलिबल संघले माल्दिभ्सको एच डीसीको सामना गर्नेछ । गण्डकी, प्रधानमन्त्री कपको उपविजेता टोली हो । गण्डकीमा तीन भारतीय खेलाडी रहेका छन् ।