• २०८१ मङ्सिर २० बिहीबार

तीन महिनामा शिवम् सिमेन्टको नाफा १ करोड २७ लाख

kharibot

काठमाडौँ । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय सूचक सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय सूचक अनुसार साउनदेखि असोजसम्म १ करोड २७ लाख रुपैयाँ नाफा गरेको छ ।

शिवम् नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनी हो । जसले प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको थियो । पछिल्लो रिपोर्टअनुसार शिवम् सिमेन्टको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ छ । आईपीओ जारी गर्नुअघि अर्थात् आव २०७९/८० सम्म ४ अर्ब ४० करोड रुपैयाँ पुँजी थियो । 

कम्पनीले साउन–असोजमा मात्रै १ अर्ब ४० करोडको सिमेन्ट बिक्री गरेको जनाएको छ । गत आवभर ७ अर्ब ७० करोडको सिमेन्ट बिक्री भएको थियो । आर्थिक मन्दी, निर्माण व्यवसायमा देखिएको सुस्तता लगायत कारण सिमेन्ट कम्पनीहरूको व्यापारमा व्यापक गिरावट आएको छ । तर पनि शिवम् सिमेन्टले सन्तोषजनक नाफा कमाएको छ ।

कम्पनीको बिक्री लागत पनि घटेको छ । गत आवको तीन महिनामा १ अर्ब ४५ करोड रहेको बिक्री लागत अहिले १ अर्ब ३० करोडमा सीमित छ । यो अवधिमा कम्पनीको अन्य आम्दानी १० करोड ५७ लाख पुगेको छ । 

शिवम् सिमेन्ट कम्पनीले २०११ देखि उत्पादन सुरु गरेको थियो । यसको उत्पादन क्षमता दैनिक ३ हजार टन छ । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडको ओर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) उत्पादन गर्छ । जुनले एनएस गुणस्तर पनि प्राप्त गरेको छ । पछिल्लो समय भारतीय बजारमा पनि शिवमको उत्पादन निर्यात भइरहेको छ ।

शिवम् सिमेन्टले चिनियाँ कम्पनी होङ्सीसँगको साझेदारीमा होङ्सी–शिवम् सिमेन्टमा ३० प्रतिशत साझेदारी पनि गरेको छ । यसबाट पनि कम्पनीलाई नियमित आम्दानी भइरहेको रिपोर्टमा उल्लेख छ । शिवम् सिमेन्टको प्रतिसेयर नेटवर्थ १८९.२८ रुपैयाँ छ । यस कम्पनीले गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी छ । गत वर्षको रिपोर्ट अनुसार यसको लाभांश क्षमता दुई अंंकको हुने देखिएको छ । अघिल्लो आव २०७९/८० मा शिवमले १५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै