काठमाडौं । नेकपा माओवादी केन्द्रले मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।
पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका अधिकारीलाई उन्मुक्ति दिने काम गरेको भन्दै आपत्ति जनाएको हो ।
माओवादी प्रवक्ता अग्नि सापकोटाले मानव तस्करी प्रकरणमा अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्धा चलाउने काम घोर आपत्तिजनक रहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
वर्तमान सरकारले पहिलेदेखि नै भ्रष्टाचारीको संरक्षण गर्दै आएको र अहिले अधिकारीलाई उन्मुक्ति दिने कामले त्यसलाई पुष्टि गरेको सापकोटाले बताए ।
उनले उपनिर्वाचनपछि सरकारविरुद्ध कडा ढंगले खवरदारी गर्ने जानकारी दिए । बैठकले पार्टीका सम्मेलनको कार्यविधि तयार गरेको जानकारी दिँदै सापकोटाले पालीका सम्मेलन र खवरदारी सभा सवै स्थानीय तहमा एकैसाथ गर्ने निर्णय भएको पनि जानकारी दिए । त्यस्तै पदाधिकारी बैठकले निर्वाचन आयोगमा पेश गर्ने विधानलाई अन्तिम रुप दिएको छ ।