काठमाडौँ । बार्सिलोना स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनालाई सेल्टा भिगोले २-२ गोलको बराबरीमा रोकेको हो ।
२-० ले पछि रहेको सेल्टा भिगोले खेलको ८४औ र ८६औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो । सेल्टाका लागि अल्फोन्सो गोन्जालेज र हुगो अल्भारेजले एक एक गोल गरेका थिए ।
त्यसअघि बार्सिलोनाका लागि राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । यस खेलमा बार्सिलोना खेलको ८२औ मिनेटमा मार्क कासाडोले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।
यो बराबरीपछि बार्सिलोनाको १४ खेलमा ३४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । त्यस्तै सेल्टा भिगोको १४ खेलमा १८ अंक छ र लिगमा ११औ स्थानमा रहेको छ ।