काठमाडौँ । इण्डियन प्रिमियर लिगको २०२५ को लागि खेलाडीको मेगा अक्सन आज हुदै छ । आइपिएलको मेगा अक्सन यस पटक साउदी अरबको शहर जेद्दामा आज र भोलि दुई दिन हुदै छ । अक्सन नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदै छ ।
आईपीएल गभर्निङ काउन्सिलले यस अक्सनका लागि ३६६ भारतीय र २०८ विदेशी खेलाडीसहित ५७४ खेलाडीको अन्तिम सूची सार्बजनिक गरेको छ ।
यस अक्सनका लागि कुल १५७४ खेलाडीहरू दर्ता भएका थिए, तर आइपिएल गभर्निङ काउन्सिलले १००० खेलाडीलाई बाहिर राख्दै ५७४ खेलाडीलाई अन्तिम अक्सनका लागि छानेका छन् । अब यी खेलाडीबाट आइपिएल फ्रेन्चाइजीहरुले २०४ खेलाडी छनौट गर्ने छन् । यस अक्सनमा ८१ खेलाडीको आधार मूल्य २ करोड भारु रहेको छ ।
यसैबीच आइपिएलमा फ्रेन्चाइजीहरुलाई अक्सनका क्रममा राइट-टू-म्याच कार्डको विकल्प दिइएको छ ।
अक्सनअघि फ्रेन्चाइजीहरुलाई बढीमा ६ खेलाडीलाई रिटेन गर्ने अधिकतम सीमा दिइएको थियो । अब ६ खेलाडी रिटेन नगरेका फ्रेन्चाइजीलाई राइट-टू-म्याचको विकल्प दिइएको छ । उदाहरणको लागि अधिकतम ६ खेलाडी रिटेन गर्न पाउने विकल्प हुदा पनि यदि फ्रेन्चाइजीले ४ खेलाडी मात्र रिटेन गरेको अवस्थामा अक्सनको बेला आफ्ना पुराना दुई खेलाडीलाई अधिकतम बोली लागेको रकम तिरेर आफ्नो टिममा पुन: भित्र्याउने अवसर हुन्छ ।
आज र भोलि हुने मेगा अक्सनमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले राइट-टू-म्याच विकल्प प्रयोग गर्न सक्ने छैनन् किनकी यी दुवै फ्रेन्चाइजीले सबै खेलाडी रिटेनको अधिकतम सीमा ६ खेलाडीलाई नै रिटेन गरेका छन् ।
यस मेगा अक्सनमा २ खेलाडीमात्र रिटेन गरेको पञ्जाव किंग्सले सबैभन्दा बढी ४ पटक राइट-टू-म्याच विकल्प प्रयोग गरेर आफ्ना रिलिज गरेका खेलाडीलाई भित्र्याउने अवसर रहेको छ । किनकी पञ्जावले केवल २ खेलाडी मात्र रिटेन गरेको थियो । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले ३ राइट-टू-म्याच विकल्प पाउदै छ ।
त्यसैगरी दिल्ली क्यापिटल्सले २, मुम्बई इण्डियन्सले एक, लखनउ सुपर जाइन्टले एक, गुजरात टाइटन्सले एक, चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादले पनि एक एक राइट-टू-म्याच विकल्प प्रयोग गर्न पाउने छ ।
राइट टु म्याच कार्ड पछिल्लो पटक २०१७ मेगा अक्सनमा प्रयोग भएको थियो । यस पटक मेगा लिलामी मार्फत पुन: राइट टु म्याच कार्ड सुरु गरिदै छ । फ्रेन्चाइजीले राइट टु म्याच कार्डको अधिकार प्रयोग गर्नु अघि एक खेलाडीको लागि उच्चतम बोली लगाउने अन्तिम मौका दिइनेछ र राइट टु म्याच कार्डको प्रयोग गर्दा उच्च बोली लागेको रकम तिरेर लिन सक्ने छ ।