• २०८१ कार्तिक ५ सोमबार

महिला टी-२० विश्वकपको फाइनलमा आज दक्षिण अफ्रिका र न्यूजील्याण्डको भिडन्त

kharibot

काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्यूजील्याण्ड भिड्ने भएका छन् । फाइनल खेल आज दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।  

न्यूजील्याण्डले वेस्ट इण्डिजलाई दोस्रो सेमिफाइनलमा ८ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । न्यूजील्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।

त्यस्तै दक्षिण अफ्रीकाको फाइनलको यात्रा पनि रोमाञ्चक रहेको छ । ६ पटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई सेमिफाइनलमा पराजित गर्दै दक्षिण अफ्रिका लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । २०२३ को विश्वकपमा फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको दक्षिण अफ्रीकाले त्यसको बदला लिदै यस पटक भने अस्ट्रेलियालाई बाहिर गर्दै फाइनल खेल्दै छ ।

यस पटकको महिला टी-२० विश्वकपले नयाँ विजेता पाउने निश्चित भएको छ । यस अघि सम्पन्न ८ विश्वकप मध्ये अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक जितेका छन् ।  

असोज १७ गतेदेखि शुरु भएको आइसीसी महिला टी-२० विश्वकपमा दक्षिण अफ्रिका र न्यूजील्याण्डसहित १० देशले भाग लिएका थिए । प्रतियोगिताको प्रबल दाबेदार मानिएको भारत र इङल्याण्ड समुह चरणबाटै बाहिरिएका थिए भने ६ पटकको विश्व च्याम्पियन अस्ट्रेलिया सेमिफाइनलबाटै बाहिरिएको थियो । 

विश्वकपको समुह ए मा अस्ट्रेलिया, भारत, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् भने समुह बी मा बंगलादेश, ईङल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका थिए ।

पुरुष सरह पुरस्कार रकम

आइसीसीले यस महिला टी-२० विश्वकपमा पुरुष विश्वकप सरहनै पुरस्कार रकम दिने बताएको छ ।

यस महिला टी-२०  विश्वकपमा आइसीसीले कुल ७९ लाख ५८ हजार ८० डलर पुरस्कार रकममा खर्च हुने बताएको छ । हालै सम्पन्न पुरुष टी-२० विश्वकपमा पनि शोही बराबर रकम पुरस्कारमा खर्च गरिएको थियो ।

आइसीसीले यस विश्वकपमा विजेता टिमलाई २३ लाख ४० हजार डलर दिने बताएको छ भने उपविजेता देशले ११ लाख ७० हजार डलर पाउने छन् । त्यस्तै सेमिफाइनलमा पुग्ने देशले ६ लाख ७५ हजार र समुह चरणमा खेल जित्ने देशले ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ ।

त्यस्तै समुह चरणबाट बाहिरिने हरेक देशले एक लाख १२ हजार ५०० डलर पाउने आइसीसीले जन्माएको छ । १० देश सहभागी विश्वकपमा पाँचौं स्थानदेखि आठौँ स्थानसम्म रहने देशले २ लाख ७० हजार डलर प्राप्त गर्ने छन् भने नवौं र दशौँ स्थानमा रहने देशले एक लाख ३५ हजार डलर पाउने भएका छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै