• २०८१ असोज १७ बिहीबार

बडादशैं सुरु: आज घटस्थापना, कति बेला छ उत्तम साइत ?

kharibot

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।

बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद्हरु बताउछन् । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

कति बेला छ घटस्थापनाको शुभ साइत ?

बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ९: १६ बजे घटस्थापना गर्ने साइत रहेको छ ।

असोज २६ गते विजयादशमीका दिन बिहान ८: ३३ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११: ३६ बजेको साइत दिइएको समितिले जनाएको छ ।

दशैंको टीका साइत

बडा दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गर्दै टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको जानकारी दिएको हो ।

समितिका अनुसार असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ बजेर ११ मिनेटमा तथा स्थिरासन ८ बजेर ४३ मिनेटमा  तोकिएको छ । त्यसैगरी असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको समितिले जानकारी दिएको छ ।

साथै समितिले सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने समेत स्पष्ट गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै