• २०८१ असोज १३ आइतबार

बाढी पहिरोले पुर्याएको क्षतिले पीडाबोध भयो- पूर्वराजा ज्ञानेन्द्र

kharibot

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले  पुरयाएको क्षति प्रति दुःख ब्यक्त गर्दै  नेपालीको  जीवन गुमेको, घाईते हुनु परेको र आफ्नो जायजेथा गुमाउनु परेको सुन्नु पर्दा अत्यन्त पीडाबोध भएको बताएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पुर्व राजा ज्ञानेन्द्रले यो बेला भारी बर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुदा हुँदै त्यसमा अग्रीम तत्परता तथा पूर्व प्रतिकार्य नभएर यति ठुलो मानवीय र भौतिक क्षति हुनु निकै नै दःखद कुरा भएको बताएका छन् । 

उनले भनेका छन्- 'हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुवान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो । त्यसैले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ ।'

उनले दशै तिहार जस्ता हाम्रा महत्वपूर्ण पर्वहरु निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक संजालहरु अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि आफ्नो गम्भिर चासो रहेको बताएका छन् । 

साथै उनले यो स्थितिमा मृतक परिवारलाई उचित राहत, वेपत्ताहरुको खोजी तथा घाइतेहरुको सिघ्र उपचार हुनु पर्ने भन्दै अस्तब्यस्त जनजीवनलाई सुधार गर्ने तर्फ राज्यले तदारुक प्रयत्न गर्न आग्रह गरेका छन् ।  

उनले भनेका छन्- 'प्रकृति, परिवेश र प्रवृत्ति अनुरुप हाम्रा विकास प्रकृया अघि बढ्नुपर्दछ । आफ्नो परिवेश माथि खेलवाड हुने बस्ति, ब्यवस्था र विकास गतिविधीले विपत्ति र विनास मात्रै निम्त्याउँदछ । त्यसमा हामी सबैको ध्यान पुग्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण हो । शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला प्रयाप्त सहयोग, सुब्यवस्था, निगरानी पुगोस भन्ने हाम्रो चाहना छ ।' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै