• २०८१ असार ४ मंगलबार

गठबन्धन सरकार चलाउन सक्छन् मोदी ?

kharibot

काठमाडौँ । भारतमा भएको आम निर्वाचनको नतिजामा सत्तारुढ दल भारतीय जनता पार्टीले बहुमत हासिल गर्न नसकेपछि गठबन्धनको सरकार बनाउनु पर्ने बाध्यता बनेको छ ।

भाजपाले यस निर्वाचनमा २४० सिट मात्र जितेपछि अब सरकार बनाउन अन्य दलमा भर पर्नुपर्ने भएको हो । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९२ सिट जितेपनि भाजपा सहयोगी दल भरपर्दो नभएको भन्दै भारतमा राजनीतिक अस्थिरता हुने आशंका गरिएको छ ।

भाजपा सरकारमा रहन अब विहारका नितिश कुमार र आन्ध्र प्रदेशका चन्द्रबाबु नायडूको साथ अनिवार्य भएको छ । राजनीतिक इतिहासमा दुवै अस्थिर मानिने भएकाले प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकाल सहज नहुने विश्लेषण हुन थालेको छ ।

त्यस्तै यस अघिका दुई निर्वाचनमा कमजोर रहेको विपक्षी दल यस पटक २३४ सिट जितेर सशक्त विपक्षी र तालमेल मिलेमा सरकार गठन गर्न समेत गर्नसक्ने अवस्थामा रहेको छ । यस निर्वाचनले नरेन्द्र मोदीलाई कमजोर बनाएको देखिएको छ । यस अघि भाजपाले २०१४ मा २८२ र २०१९ मा ३०३ सिट जितेर आफ्नै बहुमतको सरकार चलाएका मोदी अब गठबन्धन दललाई हरेक दिन खुशी राखेर सरकार चलाउनुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन् । 

जेडीयूका अध्यक्ष र बिहारका मुख्यमन्त्री नितिश कुमार, जो इण्डिया गठबन्धनका निर्माता मध्ये के थिए, उनी गत जनवरीमा मात्र पक्ष परिवर्तन गरेर एनडीएमा सामेल भए । बिहारमा एनडीएसँग सरकार बनाए र यो गठबन्धनसँग लोकसभा चुनाव पनि लडे । उनको दलले विहारमा अपेक्षित भन्दा राम्रो प्रदर्शन गर्यो र १२ सिट जित्यो । 

त्यस्तै आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको तेलुगु देशम पार्टीले १६ सिट जितेको छ । आम चुनावको साथसाथै, यहाँ विधानसभा चुनाव पनि भयो, जसमा नायडूको दलले १७५ मध्ये १३५ सिट जितेर अत्याधिक बहुमत हासिल गरेको छ ।

यसमा चाखलाग्दो कुरा के छ भने नितिश कुमार र चन्द्रबाबु नायडू दुवैले केही समयअघिसम्म केन्द्रको मोदी सरकारविरुद्ध मोर्चा खोलेका थिए र त्यही भएर अहिले एनडीए गठबन्धनमा उनीहरूको हैसियत निकै महत्त्वपूर्ण भएको छ । मोदी र बीजेपीले अब यी पुराना सहयोगीहरूसँग सरकार बनाउनको लागि समन्वय गर्नुपर्नेछ ।

मोदीका चुनौती

पछिल्लो मतपरिणामपछि यी दुई नेताले सत्ता समीकरणमा किंगमेकरको भूमिका निर्वाह गरेका छन् । नितीश कुमार र चन्द्रबाबु नायडूको बैसाखी बिना यो सरकार चल्न सक्दैन र दुवैको शत प्रतिशत भरोसा गर्न सकिने अवस्था समेत रहेको छैन ।  दुवैजना पुराना र अनुभवी राजनीतिज्ञ हुन्, साथै विशेष किसिमको राजनीतिक सोच भएका छन् र यो शक्तिको समीकरणमा उनीहरूले ठुलो भूमिका खोज्ने छन् र आफूले चाहेको गर्न खोज्ने छन् ।

मोदीका अगाडी सबैभन्दा ठुलो चुनौती दश वर्षको कार्यकालमा प्रधानमन्त्री र गृहमन्त्री स्वयम् बाहेक सत्तामा कसैको सहभागिता थिएन, अब सत्तामा सहभागिता बढाउनु पर्ने र अरुको कुरा नसुनेमा सत्ताबाट बाहिरिनु पर्ने अवस्था आउने देखिएको छ । 

मोदी गठबन्धनको सरकार चलाउन अनुभवी नेता होइनन् । २००२ देखि २०२४ सम्म तीन पटक मुख्यमन्त्री र दुई पटक प्रधानमन्त्री भइसके, उनले सबै बहुमतको सरकार चलाए । अब अचानक समन्वय र सहमतिको राजनीति गर्ने बाटोमा अगाडी बढेका छन् । अब यो सरकारको दिगोपन उसले यो नयाँ भूमिकालाई कत्तिको राम्रोसँग ग्रहण गर्छ भन्नेमा नै भर पर्ने भारतीय राजनीतिक विश्लेषक बताउछन् । 

यस अघि अटल विहारी पाजपेयीले सन् १९९९ मा एनडीए गठबन्धनमा २४ दल सामेल गरेर पाँच वर्ष सरकार चलाएका थिए ।

नितिश र चन्द्रबाबु यस अघि मोदी विरोधी रहेकाले अहिले तत्कालका लागि एनडीएको सरकार बनेपनि निकट भविष्यमा इन्डिया गठबन्धनको सरकार बन्ने विश्लेषण भैरहेको छ । यसका लागि एउटा तर्क मोदीको उमेर पनि हो । मोदी अहिले ७४ बर्षका भए र अर्को बर्ष ७५ बर्ष पुग्दै छन् । भाजपामा ७५ बर्षको उमेर हदबन्दी लगाइएको छ । यदि यो मोदीको हकमा लागु भयो भने उनी अर्को बर्ष सरकारको नेतृत्वबाट हट्ने छन् । मोदी हटेसँगै गठबन्धन टुट्ने विश्लेषण पनि भइरहेको छ । 

यसैबीच विपक्षी दलहरुले पनि सरकार बनाउन प्रयास गर्ने संकेत गरेका छन् । उनीहरुले मोदीको राजनीतिक हार भएको उल्लेख गर्दै सरकारमा बस्ने हक नभएको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै