• २०८१ श्रावण १२ शनिबार

कविता- त्यो को हो !

kharibot


म जान्दिन त्यो को हो 
तर यत्ति चै जान्दछु
त्यो छन्दमा बन्द छैन
त्यो सुराको कुरा होइन 
त्यो भर्सको दगुर्ने हर्स पनि होइन

म जान्दिन त्यो को हो 
तर यत्ति चै बुझ्दछु 
त्यो कुनै कथा हैन
त्यो कुनै गाथा होइन 
त्यो कुनै शब्द होइन
त्यो कुनै वाक्य पनि होइन

म जान्दिन त्यो को हो
तर यत्ति चै थाहा छ
त्यो कुनै लोक होइन
त्यो कुनै परलोक होइन
त्यो कुनै यसको होइन
त्यो कुनै उसको पनि होइन

म जान्दिन त्यो को हो 
तर यत्ति चै ज्ञात छ
त्यो कुनै लिला होइन
त्यो कुन चटक होइन
त्यो कुनै व्याधी होइन
त्यो कुनै ओखती पनि होइन 

म जान्दिन त्यो को हो 
तर यत्ति चै भन्दछु
त्यो कुनै स्वार्थ होइन
त्यो कुनै आज्ञा होइन 
त्यो कुनै द्रष्टा होइन
त्यो कुनै दाता पनि होइन 

म जान्दिन त्यो को हो 
तर यत्ति चै ठान्दछु
त्यो कुनै ज्ञेय होइन
त्यो कुनै अज्ञेय होइन
त्यो कुनै दीव्य होइन
त्यो कुनै व्याख्या पनि होइन

म जान्दिन त्यो को हो
तर यत्ति चै भन्दछु
त्यो कुनै आदि होइन
त्यो कुनै अन्त होइन
त्यो कुनै दण्ड होइन
त्यो कुनै त्रास पनि होइन

म जान्दिन त्यो को हो 
तर यत्ति चै लाग्दछ 
त्यो त्यो होइन को बुझिन्छ
त्यो त्यो होइन जो बुझाइन्छ
त्यो त्यो होइन जे हो भनिन्छ
त्यो त्यो हो जे हैन भनिन्छ

त्यो अभाव पनि त्यो भाव पनि
त्यो चेत पनि त्यो सचेत पनि
त्यो श्रृष्टि पनि त्यो संहार पनि
त्यो अपरिमित सन्तुलन पनि 
त्यो अगणित असन्तुलन पनि
त्यो ब्रह्माण्ड कृति त्यो शुद्ध प्रकृति
त्यो प्राण वायु पानी प्रकाश
त्यो आदिम अनन्त उर्जा खास

-विपुल सिजापति 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै