• २०८१ बैशाख १९ बुधबार

३०० भारतीयको मानव तस्करी प्रकरण: पेरिसमा अनुसन्धान शुरु

kharibot

भट्री (फ्रान्स) । मानव तस्करीको आशङ्कामा पेरिस नजिकै हिरासतमा राखिएका विमानमा यात्रा गरिरहेका तीन सयभन्दा धेरै भारतीयसँग चार फ्रान्सेली न्यायाधीशले आइतबार सोधपुछ सुरु गरेका छन् ।

मानव बेचबिखनका सम्भावित पीडितहरूलाई लैजाँदै गरेको भन्ने अज्ञात सूचनापछि बिहीबार दुबईबाट इन्धन भर्न आइपुगेको निकारागुवा जाँदै गरेको एयरबस ए३४० लाई पेरिसबाट १५० किलोमिटर (९५ माइल) पूर्व भट्री विमानस्थलमा राखिएको छ । सीमा प्रहरीले प्रयोग गरिरहेको हिरासतमा राख्ने आदेशलाई सुरुमा आठ दिनसम्म र आवश्यक परेको अवस्थामा थप आठ दिन बढाउने अधिकार न्यायाधीशरूलाई छ । 

यात्रीहरूसँग कुराकानी गर्नका लागि उनीहरूसँग दुई दिनको समय छ । “लक्ष्य भनेको सबैलाई हेर्न सक्षम हुनु हो”, चालोन्स–एन–स्याम्पेन क्षेत्रका अभियोजक एनिक ब्राउनले भन्नुभयो । अनुवादकहरूले न्यायाधीशहरूलाई सहयोग गरिरहेका छन् । 

रोमानियाली कम्पनी लिजेन्ड एयरलाइन्सको उडानमा रहेका तीन सय तीन यात्री विमानस्थलमै अलपत्र परेका छन् । पेरिस अभियोजकहरूका अनुसार यात्रीमध्ये ११ जना बिनासहाराका नाबालिग रहेका छन् । मामिलासँग सम्बन्धित एक स्रोतले दस यात्रीले शरणका लागि अनुरोध गरेका छन् । 

त्रिपालले प्रवेश कक्षको सिसा र बाहिरी भाग तथा नजिकका प्रशासनिक भवनहरूलाई ढाकेको छ । प्रहरी र अर्धसैनिकले प्रवेशमाथि रोक लगाएका छन् । पेरिस अभियोजकको कार्यालयका अनुसार शुक्रबार हिरासतमा लिइएका दुई यात्रीको हिरासत अवधि शनिबार साँझ ४८ घन्टासम्म बढाइएको छ ।

उनीहरूको भूमिका यो यात्रामा अरुभन्दा फरक हुन सक्छ र कुन अवस्था तथा उद्देश्यका साथ हुनसक्छ भनेर प्रमाणित गर्नका लागि हिरासतमा राखिएको हो । अभियोजकहरूका अनुसार अनुसन्धानकर्मीहरूले यात्री तथा उडान चालक दलको पहिचान जाँच गरेका छन् र उनीहरूको यात्राको ‘स्थिति र उद्देश्य’ प्रमाणित गरिरहेका छन् । पेरिसमा भारतीय दूतावासले शनिबार उसले ‘स्थितिको द्रुत समाधान’ का लागि काम गरिरहेको बताएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले भनेको छ, “वाणिज्य दूत घटनास्थलमा हुनुहुन्छ ।” 

मार्नेका नागरिक सुरक्षा प्रमुख प्याट्रिक जालोक्सले विमानस्थमा तीन रात बिताएपछि यात्रीहरू स्वाभाविकरूपमा ‘निराश’ रहेको बताए । उनका अनुसार तीमध्ये केही भारतको राष्ट्रिय भाषा हिन्दी बोल्छन् भने अन्य दक्षिणी भारत र श्रीलङ्काका केही भागमा बोलिने भाषा तमिल बोल्छन् । “उनीहरू आफ्ना परिवारसँग सम्पर्कमा छन्”, उनले भने । 

निकारागुवा हुँदै अमेरिका वा क्यानाडा जान खोजेका ती भारतीय यात्रीहरू सम्भवतः संयुक्त अरब इमिरेट्स (युएई) का कामदार रहेको सोधपुछसँग सम्बन्धित निकट स्रोतले एएफपीलाई बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै