• २०८१ श्रावण १२ शनिबार

कामिरिताको किर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

kharibot

काठमाडौँ । कामिरिता शेर्पाले सगरमाथाको २९औँ पटक सफल आरोहन गरेर कीर्तिमानी तोडेका छन् ।  कामिरिताले आज बिहान ७: २५ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ । 

उनी सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही हुन् । यस अघि पनि यो किर्तिमान उनकै नाममा रहेको थियो ।  सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडिदिएका छन् । 

सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । गत वर्ष सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका थिए । पासाङ दावाले यसपटक सगरमाथा आरोहण गर्ने या नगर्ने टुङ्गो छैन ।

सगरमाथासहितका हिमाल नेपालको गौरव पनि हो । पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नागरिक नेपाल आउँछन् । कीर्तिमानी आरोही कामिरिताको बुझाइमा हिमालले देशलाई धेरै चीज दिएको छ । हिमाललाई दुहुना गाईका रुपमा मात्र प्रयोग नगरी संरक्षण र सरसफाइ गर्नुपर्ने उनको बुझाइ छ । 

कामिरिताले विसं २०७९ को वसन्त ऋतुमा दुईपटक सगरमाथा आरोहण गरेका थिए । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । त्यसको केही दिनलगत्तै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल थिए । उनले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एकपटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ ।

अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेपछि कामिरिताको कीर्तिमानी खोसिने हो कि भन्ने चुनौती थपिएको थियो । पासाङ दावाले आरोहणलाई निरन्तरता दिएमा कीर्तिमान तोडिने भएकाले जोगाउने चुनौती थपिएको हो । सगरमाथाको दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने जिम्मा सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेका छन् । 

पर्यटन विभागका अनुसार वैशाख १७ गतेसम्म ३७ आरोही समूहका ७० महिला र तीन सय २० पुरुष गरी कूल तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै रु ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी सङ्कलन भएको छ । अघिल्लो वर्ष ४४ आरोही समूहका चार सय ७८ आरोहीले अनुमति लिएका थिए । जुन सङ्ख्या सगरमाथा आरोहण इतिहासकै सबैभन्दा बढी थियो ।

सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मि.) सम्म बाटो खुलेको छ । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म डोरी टाँग्ने काम सकिएको छ । मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने अनुमान गरिएको छ । आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का आइसफल डाक्टरहरुले बाटो बनाउने गर्छन् । अघिल्लो वर्ष वैशाख ३० गतेबाट आरोहण सुरु भएको थियो । 

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२३’ का अनुसार नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युनिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार छ सय २६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

हालसम्म सगरमाथा आरोहण गर्ने महिला पाँच सय १९ जना पुगेका छन् । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाएकी थिइन् । पासाङ ल्हामु शेर्पा सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन् । उनले सन् विस २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् तर उनी जीवितै फर्किन भने सकिनन् । 

सन् २०२२ मा सगरमाथा आरोहण गरेकी कर्मा शेर्पा सगरमाथा आरोहण गर्ने पछिल्लो नेपाली महिलाको सूचीमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै