म्याग्दी (बेनी)। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
काठमाडौँबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किन क्रममा आज बिहान करिब ९ बजे कागबेनीमा दुर्घटना भएको थियो ।
सडकको घुम्तीको ओरालोमा दुर्घटनामा परेको बसमा सवारमध्ये १४ जना पुरुष र सात महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
बसमा चालकसहित ३० जना सवार रहेका थिए । दुर्घटनामा परेर घाइते भएकालाई स्थानीयबासी, जनप्रतिनिधि र प्रहरीले उद्धार गरी मुस्ताङ जिल्ला अस्पताल पुराएका छन् ।
अहिले घाइतेहरुको उपचार भइरहेको र अवस्था सबैको सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा बसको ब्रेकफेल भएपछि बिच सडकमा नै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस पल्टिएपछि करिब तीन घण्टा कागबेनी-मुक्तिनाथ सडक अवरुद्ध भएको थियो । जनप्रतिनधि, प्रहरी र प्रशासनको समन्वयमा डोजरको सहायताले दुर्घटनाग्रस्त बसलाई सडक किनारामा पन्छ्याइपछि अवरुद्ध सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।